असार १८ । काठमाडौँ, एकीकृत नेकपा९माओवादी०को संसदीय दलको बैठकमा सभासद्हरुले पार्टी नेतृत्वको आलोचना गरेका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बैठकमा सभासद्हरुले विगतको सहमति र सम्झौता विपरीत सत्तारुढ दलसँग सहमति गरेको
भन्दै नेतृत्वको आलोचना गरेका हुन् ।
संविधान लेखन प्रक्रिया विगतको सहमति, सम्झौता तथा शान्ति सम्झौताको प्रमुख अङ्ग भएकाले सोहीअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै उनीहरुले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, प्रमुख दलबीच भएको १६ बुँदे सहमतिको समेत बैठकमा आलोचना भएको थियो ।
बैठकमा संविधान लेखन प्रक्रिया, आगामी कार्यक्रम तथा सरकारले केही दिनपछि व्यवस्थापिका–संसद्मा पेस गर्ने आर्थिक वर्ष २०७२÷७३ को बजेटको विषयमा छलफल भएको एमाओवादीका सभासद् दलजीत विके श्रीपालीले जानकारी दिए ।
बैठकमा संसदीय दलका नेता एवम् एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष एवम् संविधानसभा व्यवस्थापिका विभागका प्रमुख नारायणकाजी श्रेष्ठ, दलका उपनेता टोपबहादुर रायमाझी र प्रमुख सचेतक गिरिराजमणि पोखरेलले संविधान लेखन प्रक्रियामा पार्टीका तर्फबाट अवलम्बन गरिने नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा दलका नेता दाहालले विगतका उपलब्धिसमेत गुम्ने खतरा बढेकाले आफूहरु सम्झौता गर्न बाध्य भएको बताएका थिए ।
विगतका सहमतिको आधारमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै भावी सङ्घर्षका लागि तयार रहने ध्येयका साथ सम्झौता गरिएको जानकारी गराउँदै उहाँले विगतका सबै उपलब्धि गुम्यो र सम्झौता मात्रै भयो भन्ने ढङ्गले नसोच्न आग्रह गर्नुभएको श्रीपालीले जानकारी दिए।
अध्यक्ष दाहालले सहमतिका आधारमा सरकारको नीति तथा कार्यक्रम ल्याउन र बजेट ल्याउनसमेत सत्तारुढ दललाई आग्रह गरिएको जानकारी गराएका थिए ।








