लन्डन, बेलायतको लिभरपुल जोनमोर्स युनिभर्सिटीको एसोसिएट डिनमा नेपाली प्राध्यापक पदम सिम्खडालाई नियुक्त गरिएको छ । अनुसन्धानका लागि ख्याती कमाएको जोनमोर्स युनिभर्सिटीको मंगलवार बसेको बैठकले डिनमा नियुक्त गरेको हो।
प्रजनन् तथा यौन स्वास्थ्य, बसाइँसराई र मातृशिशु बिषयमा दक्खल राख्ने सिम्खडालाई लामो अनुभवको आधारमा दिनमा छनौट गरिएको हो ।
लामो अनुभवको आधारमा आफुलाई डिनमा नियुक्त्त गरिएको सिम्खडाले बताउनु भयो । नियुक्तिले आफुलाई शिक्षाको क्षेत्रमा काम गर्न थप हौसला मिलेको भन्दै सिम्खडाले भन्नु भयो, ‘युनिर्भसिटीको ब्यवस्थापनलाई अझ सशक्त बनाउने प्रयत्न गर्नेछु।’
सिम्खडासँग २१ जना प्राध्यापकले प्रतिश्पर्धा गरेका थिए ।आगामी १ अगष्टदेखि सिम्खडा उक्त विश्वविद्यालयको शिक्षा र सामुदायिक स्वास्थ्य संकायको एसोसिएट डिनको कार्यभार समाल्नुहुनेछ । उहाले सम्हालेको संकायमा ६ हजार विद्यार्थी अध्ययनरत छन भने यो उनिभर्सिटीमा २५ हजार विद्यार्थी अध्ययनरत छन ।
यसअघि सेभ द चिल्ड्रेन र स्वास्थ्य मन्त्रालयमा कार्यरत सिम्खडा पोखरा विश्वविद्यालय अन्तर्गतको नोबेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन मेमोरियल इन्सिट्च्युटमा भिजिटिङ प्रोफेसरका रुपमा काम गर्नु भएको थियो । उहासँग अमेरिका, अफ्रिका, नाइजेरियालगायतका देशमा काम गरेको अनुभव पनि छ।
ग्रामीण महिला स्वास्थ्यका क्षेत्रमा काम गर्ने ग्रीनतारा ट्रस्ट बेलायत र नेपाल संस्थासँग पनि उहा आबद्ध रहनु भएको छ । यसअघि उहाले ग्लोवल हेल्थसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाउनु भएको थियो ।








