गुटबन्दी होइन प्रतिष्पर्धा गरौँः पोखरेल, प्रत्यासी न्यू साउथवेल्स कोअर्डिनेटर

आगामी शनिबार अर्थात जुलाई चारमा अष्ट्रेलिया एनआरएनको निर्वाचन हुँदैछ । आगामी नेतृत्वका लागि दर्जनबढी उम्मेदवारहरू मैदानमा देखिएका छन् । त्यसक्रममा दीनेश पोखरेलले न्यू साउथवेल्सको स्टेट कोअर्डिनेटरमा पदमा उम्मेदवारी दर्ता गरेका छन् । सुनौँ उनका केही धारणाहरूः

एनआरएनमा मेरो संलग्नताः
म सन् २००४ मा अष्ट्रेलिया आएको हुँ । म यहाँ आए देखि नै अष्ट्रेलियामा रहेका नेपाली समूदायका विभिन्न गतिविधिहरूमा सक्रियतापूर्वक भाग लिँदै आएको छु । एनआरएन अष्ट्रेलियाको सुरूवाती दिन देखि नै विभिन्न गतिविधिहरूमा दत्तचित्त भएर लागेको छु । त्यति वेला म साधारण सदस्यको हैसियतमा नै थिएँ । सन् २०१३–२०१५ को कार्यसमितिमा चाँही म एनआरएन अष्ट्रेलियाको प्रवक्ता भएर जिम्मेवारी निभाएँ । यो कार्यकालमा एनआरएन अष्ट्रेलियाका जतिपनि क्रियाकलापहरू छन्, ति सवैमा म आफैँ प्रत्यक्ष संलग्न भएँ । विभिन्न गतिविधिहरू मार्फत नेपाली समूदायको बृहत्तर सेवा गर्ने मौका पाएँ । त्योबीचमा म एनआरएन अष्ट्रेलियाको हेल्प डेक्सको संयोजक पनि भएँ । त्यसले नेपाली समूदायको मन जित्न धेरै हदसम्म सफल भयो ।

मलाई यसकारण भोट दिनुहोस्ः
अष्ट्रेलियाको सबै भन्दा ठूलो स्टेट न्यू साउथवेल्स जहिल्यै ओझेलमा पर्दै आएको छ । स्टेल लेवलमा यस भन्दा अघि एनआरएनले प्रभावकारी काम गर्न सकेन । जतिपनि कामहरू भएका छन् ति सवै सतही भएका छन् । एनआरएनका गतिविधिहरूलाई आधारभूत तहसम्मै विस्तार गर्ने भनेको स्टेट कमिटीहरूले नै हो । मैले एनआरएनको प्रवक्ताको जिम्मेवारी वहन गरिसकेको छु । सवैको चाहना त्यो भन्दा माथि अपग्रेड हुने हुन्छ । तर, मलाई त्यो उचित लागेन । त्यो भन्दा बरू स्टेट कमिटीलाई नै बलियो बनाउँछु र कामको प्रभावकारी संयोजन गर्छु भन्ने लागेर मैले स्टेट कोर्डिनेटरमा उम्मेदवारी दर्ता गरेको हुँ ।

सहमतिको प्रयासः
एनआरएन अष्ट्रेलिया नेपाली समूदायको साझा संस्था हो । त्यसकारण यहाँ चुनावी प्रतिष्पर्धा मार्फत एकआपसमा तिक्तता बढाउनु उपयुक्त हुँदैन । नेतृत्वमा आउनेले काम गर्ने, अरूले नगर्ने भन्ने हुँदैन । त्यसकारण समझदारी, एकता र हार्दिकतद्वारा नै नेतृत्वमा आउने कुरा महत्वपूर्ण हुन्छ । म त्यो कुराको पक्षपाती हुँ । सुरूमा प्रतिष्पर्धा भन्दा पनि सहमतिमा जाउँ भनेर कुरा उठाएको पनि हो । तर, एकले अर्कालाई छोड्ने अवस्था सिर्जना नभएको कारण त्यो सम्भव हुन सकेन ।

मैले गरेको कामको मूल्यांकन भएको छ । मैले जुन निस्वार्थ भावले काम गरेको छु, त्यसको कदर हुन्छ भन्ने मेरो विश्वास पनि छ । यसकारण म निश्चित छु कि मैले पराजय व्यहोर्नु पर्दैन । प्रजातान्त्रिक प्रक्रियामा भाग लिए पछि हार वा जित त अवश्यमभावी छ । तर, म निर्वाचनमा विजयी भएँ भने एनआरएन अष्ट्रेलियालाई संस्थागत तवरबाट अघि बढाउने प्रयत्न गर्छु । निर्वाचनमा पराजय हुने साथीहरूलाई पनि समेटेर लैजान मेरो पहल रहने छ ।

गुटबन्दी होइन प्रतिष्पर्धाः
एनआरएन अष्ट्रेलियाको आगामी नेतृत्वका लागि बाहिर आए जसरी गुटबन्दी भएको छैन । बरु प्रतिष्पर्धा चाहीँ देखिएको छ । प्रतिष्पर्धाबाटै नेतृत्वमा पुग्ने लोकतान्त्रिक विधि र प्रक्रियाको सर्वोच्चम रूप हो । त्यो क्रममा केही मन मिल्ने साथीहरू एक आपसमा सँगै मत माग्नु भयो भन्दैमा गुटबन्दी भयो भन्ने अर्थ लगाउन मिल्दैन ।

सम्बन्धित शिर्षकहरु