असार १५ । काठमाडौँ, मन्त्रिपरिषदको विधेयक समितिले सशस्त्र प्रहरी बललाई पनि ‘पक्राउ’ को अधिकार दिने नियमावली पारित गरेको छ । संसदको राज्य व्यवस्था समितिले आफूले अन्तिम टुंगोमा नपुग्दासम्म निर्णय नगर्न दिएको निर्देशनविपरीत विधेयक समितिले नियमावली संशोधन प्रस्ताव स्वीकृत गरेको हो ।
मन्त्रिपरिषदले समितिलाई अन्तिम निर्णय गर्ने अधिकार दिएको थियो । अब समितिले पारित गरेको नियमावली राजपत्रमा प्रकाशित भएपछि सशस्त्र प्रहरीले आशंकित व्यक्तिलाई सूचना दिएर पक्राउ गर्न सक्नेछ । समितिले गृह मन्त्रालयबाट प्रस्तावित सशस्त्र प्रहरी नियमावली २०७२ लाई परिमार्जन सहित अनुमोदन गरेको हो । यसअघि पक्राउ गर्ने अधिकार नेपाल प्रहरीलाई मात्र थियो । सशस्त्रलाई पक्राउको अधिकार दिँदा दुई प्रहरी संगठनबीच टकराव बढ्ने चिन्ता गृहकै अधिकारीहरू व्यक्त गर्छन् ।
गृहसचिव सूर्यप्रसाद सिलवालले नियमावली परिमार्जनसहित पारित भएको जानकारी दिए । विधेयक समितिमा सिलवालसमेत आमन्त्रित सदस्य थिए । ‘पक्राउ पुर्जी दिने भन्ने नभई पक्राउ पर्ने व्यक्तिलाई पक्राउको सूचना दिने भनेर संशोधन गरिएको छ,’ सिलवालले भने, ‘संशोधन भएर पारित भएको फाइल गृहमा आइपुगिसकेको छैन ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।








