संविधानसभामा मस्यौदा पेश भएन

NepaleseConstitution-Nepal24Hrsअसार १५ । काठमाडौँ, संविधानसभाको आजको बैठक पूर्वसांसद पद्मसुन्दर लावतीका निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरी स्थगन भएको छ ।

सभाध्यक्ष सुवास नेम्वाङको अध्यक्षतामा राति १२ बजेर ४५ मिनेट जाँदा सो बैठक बसेको थियो । लावती पाँचथर–२ बाट विसं २०५१ को आमनिर्वाचनमा प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका थिए ।

लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिनुभएका उनको गत जेठ २७ गते ७६ वर्षका उमेरमा निधन भएको थियो । उनी राप्रपा नेपालका पनि संस्थापक नेता थिए । संविधानसभाको बैठक मङ्गलबार अपराह्न २ बजे बस्दैछ ।

मस्यौदा पेस भएन
संविधानसभा, संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदलले तयार गरेको मस्यौदालाई शब्द र भाषा मिलाएर अन्तिम रुप दिने क्रममा प्रमुख तीन दलबीच मत बाझिएपछि संविधानसभाको सोमबारको बैठकमा प्रारम्भिक मस्यौदा पेस हुन सकेन ।

नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा९माओवादीबीच भएको १६ बुँदे सहमतिअनुसार संविधान लेखनलाई तीव्र तुल्याएका दलबीच प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन भाषालाई मसिनो तुल्याउने क्रममा उनीहरुबीच मतभेद सिर्जना हुन पुगेको थियो ।

मस्यौदा समिति बैठकमा विभिन्न दलसम्बद्ध सभासद्ले आआफ्नै खालका धारणा प्रस्तुत गरेपछि विवादित विषयमा सहमति हुन नसकेको सभापति सिटौलाले जानकारी दिए।

एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले भने बहुलवादलगायत राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत स्थान सुनिश्चित गर्ने आदि विषयमा सहमति भएको जिकिर गरे । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले विष्णुप्रसाद पौडेल सभापति रहेको संविधानसभा निक्र्योल समिति र डा बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक संवाद तथा सहमतिले दिएको प्रतिवेदनका बुँदाविपरीत मस्यौदा समितिमा विषयवस्तु प्रवेश गरेकाले दलबीच सहमति हुन नसकेको बताए ।

दलबीच खासगरी बहुलवाद, नागरिकता, प्रदेशसभाको विघटन, स्थानीय निकायको निर्वाचन, परिवारिक सम्पत्ति, सुरक्षा परिषद्मा प्रधानसेनापतिको समावेश, राष्ट्रिय पार्टीको मान्यता पाउन आवश्यक निश्चित मत प्रतिशत थ्रेस होल्ड, जिल्लाको संरचना कस्तो हुनेलगायत विषयमा सामान्य मतभेद रहेकाले विषयले निकास नपाएपछि प्रतिवेदन अघि बढ्न नसकेको हो ।

संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारीको पुनःनियुक्ति गर्ने कि नगर्ने भन्ने विषयले पनि संविधानको मस्यौदालाई अन्तिम रुप दिन असजिलो पारेको बुझिएको छ ।

मस्यौदा कार्यदलमा सभापति कृष्णप्रसाद सिटौला, काँग्रेसका रमेश लेखक, एमालेका भीमबहादुर रावल र अग्निप्रसाद खरेल, एमाओवादीका गिरिराजमणि पोखरेल र रामनारायण बिंडारी हुनुहुन्छ । आज अपराह्न ३ बजेका लागि डाकिएको संविधानसभाको बैठक पटक पटक समय सर्दै राति १२ः४५ बजे मात्र सञ्चालन भएको थियो ।

मस्यौदा समितिले संविधानको प्रारम्भिक मस्यौदालाई अन्तिम रुप दिन नसकेपछि संविधानसभाको सोमबारको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगन भएको थियो ।

सम्बन्धित शिर्षकहरु