असार १२ । काठमाडौँ, शिक्षाविद्ले नेपालको सार्वजनिक शिक्षालाई अगाडि बढाउन दातृ मुलुकले दिएको पैसाको सदुपयोग गरेर क्षतविक्षत शिक्षा क्षेत्रको पुनःनिर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लबमा शनिबार आयोजित साक्षात्कारमा उनीहरुले धेरै बालबालिकाले अभिभावक गुमाएकाले सबैको अभिभावक सरकार हो भन्दै ती घरबारविहीन विद्यार्थीलाई आगामी तीन वर्षभित्र टिनको छानोबाट मुक्त गर्न सकेन र भौतिक संरचना निर्माण गर्न राज्य विफल भयो भने यो पुस्ता बरवाद हुने धारणा व्यक्त गरे ।
कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा लवदेव अवस्थीले हालैको भूकम्पबाट ध्वस्त भएका विद्यालयको पुनःनिर्माण गर्ने जिम्मा सरकारले लिने बताउँदै यसमा अभिभावक ढुक्क हुन आग्रह गरे ।
उनले सरकारले तीन चरणमा विद्यालयको पुनःनिर्माण तथा व्यवस्थापनको कार्य अघि बढाएको बताउँदै भूकम्पबाट प्रभावित विद्यार्थी तथा शिक्षकलाई सामान्यीकरणतर्फ उन्मुख गराउन टहरा निर्माणको काम गरी विद्यालय सञ्चालनमा ल्याएको बताए ।
शिक्षाविद् डा भीमदेव भट्टले भूकम्पले शिक्षा क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताउँदै सङ्क्रमणकाललाई व्यवस्थापन गर्न ध्वस्त विद्यालय तथा कलेजलाई स्थायी भवन निर्माण नभएसम्म एक आपसमा गाभ्नुपर्ने आवश्यकता औँल्याए ।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष रमेश मल्लले टिनको छानाबाट बनेको अस्थायी कक्षाकोठामा बसेर घाम र पानी परेको बेला विद्यार्थीले पढ्न सक्ने अवस्था नभएको बताउँदै तीन वर्षभित्र अस्थायी कक्षा कोठालाई स्थायीमा परिवर्तन गर्न सकेन भने यो पुस्ताका विद्यार्थी बरवाद हुने बताए ।
क्षेत्रीय शिक्षा निर्देशनालय पोखराका उपनिर्देशक ईश्वरीप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै विपद्लाई कठोर मेहनत र परिश्रम गरेर पुनःनिर्माण गर्ने अवसरका रुपमा परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिँदै सरकार र भूकम्पपीडित व्यक्तिले भिख माग्ने अवसरका रुपमा ग्रहण गरे यो देशको पुनःनिर्माण हुन नसक्ने ठोकुवा गरे ।
सभासद् रणजीत कर्णले भूकम्पपछि सरकारको क्रियाकलाप सन्तोषजनक नभएको बताउँदै यो तरिकाले पाँच वर्षमा पनि भौतिक संरचनाको पुनःनिर्माण हुन नसक्ने टिप्पणी गरे ।








