असार १२ । रुपन्देही, नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले व्यक्ति परिवर्तनका लागि मात्रै हुने सरकार परिवर्तनले जनतालाई खासै फरक नपर्ने बताएका छन् ।
संविधान निर्माणपछि एमालेको नेतृत्वमा गठन हुने भनिएको सरकारको विषयमा समेत अनभिज्ञता प्रकट गर्दै नेता नेपालले जनताले सेवा सुविधा नपाउने सरकार ‘कौवालाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको टिप्पणी गरे ।
नेकपा एमाले रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीभित्र व्यक्तिवादी प्रवृति हाबी हुँदै गएको र यसले पर्टीलाई दीर्घकालीनरुपमा असर पार्ने बताउए।
संविधान निर्माणपछि बन्ने भनिएको एमालेको सरकारबारे पत्रकारको जिज्ञासामा नेता नेपालले आफू न त प्रधानमन्त्री न त राष्ट्रपतिकै लागि इच्छुक भएको प्रतिक्रिया दिए ।
नेता नेपालले दलहरुले राजनीतिक गफ छोडेर पुनःनिर्माणका लागि लाग्नुपर्नेमा जोड दिए । भूकम्पपछि नेपालले भ्रष्टाचाररहित, दह्रो राजनीतिक इच्छाशक्ति भएको नेतृत्व खोजेको बताउँदै भूकम्पपछि सरकारले एकीकृत बस्ती विकासका लागि पहल गर्न सरकारसँग आग्रह गरे ।
नेता नेपालले संविधान निर्माणमा समझदारी कायम गरेर छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्नेमा जोड दिए ।








