एनआरएन अष्ट्रेलियाको निर्वाचनमा सबै राज्यमा ईलेक्ट्रोनिक भोटिङ हुने

अष्ट्रेलिया, आगामी जुलाई ४ हुने गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको अन्तिम उम्मेद्वारको सूची सार्वजनिक गरिएको छ । निर्वाचन ईलेक्ट्रोनिक भोटिङको माध्यमबाट गरिने भएको छ । यस विषयमा राष्ट्रिय निर्वाचन आयोगका प्रमुख जोग लिम्बुले असनेपालन्यूजसँग सङक्षिप्त कुराकानी गर्दै निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको जानकारी दिए । ‘केही काम प्राविधिक कामहरू बाँकी छ । निर्वाचनको अन्तिम नामावली प्रकाशन भइसकेको छ’, उनले भने ‘हामी बाँकी काम पनि तिव्र गतिमा गरिरहेका छौँ ।’

उनका अनुसार निर्वाचन इलेक्ट्रोनिक भोटिङ मार्फत हुनेछ । मतदाताहरूले तोकिएको मतदान केन्द्रमा पुगेर आफ्नो मत जाहेर गर्न सक्नेछन् । न्यू साउथवेल्समा दोश्रो पटक भएपनि अन्य सबै राज्यमा पहिलो पटक ईलेक्ट्रोनिक भोटिङ हुन लागेको हो । त्यस कारणले मतदाताहरूलाई मतदाता शिक्षा दिने पनि निर्वाचन आयोगको तयारी छ ।

क–कसको पर्यो उम्मेदवारी?

निर्वाचन आयोगले सार्वजनिक गरेको सूचि अनुसार अध्यक्ष पदमा भरत पोखरेल र सुरेन्द्र सिग्देलको उम्मेदवारी परेको छ । यस्तै सचिव पदमा तोनु घोताने र भीष्म भण्डारी र सरोजकुमार शर्मा र कोषा डिलाराम खरेल र प्रकाश सापकोटाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । त्यस्तै युथ कोअडिर्नेटरमा विजयशर्मा चापागाईं र सचिन्द्र थापा चुनावी मैदानमा छन् । अर्कोतर्फ राष्ट्रिय संयोजन परिषद्को सदस्यका रुपमा क्यापिटन टेरोटेरी क्यानबेराबाट राजन ढुंगेल सर्वसम्मत भएका छन् भने क्वीन्सल्याण्डबाट चार सदस्यको लागि सात जना मैदानमा छन् । त्यस्तै न्यू साउथवेल्सबाट ६ सदस्यका लागि १२ जना मैदानमा छन् । नर्दन टेरोटरीबाट अमृतकुमार लम्साल निर्विरोध भएका छन् भने साउथ अष्ट्रेलियाबाट दुई पदका लागि तीन जना प्रतिस्पर्धामा छन् । भिक्टोरियाबाट तीन सदस्य निर्विरोध भएका छन् जसमा नारायण काफ्ले, महेन्द्र केसी, महेश सिंह रहेका छन् ।

वेस्टर्न अष्ट्रेलियाबाट तीन सदस्यका लागि चार जना मैदानमा छन् । यसअघि नै सिर्जना संग्रौला नेतृत्वमा नारी निकुञ्जको पूरै टिम निर्विरोध भइसकेको छ । महत्वपूर्ण मानिएको अन्तराष्ट्रिय समन्वय परिषद्को सदस्य पदमा ५ सिटको लागि १० जना उम्मेद्वार प्रतिस्पर्धा गरिरहेका छन् । जसमा केशव सापकोटा, प्रकाश जिसी, चुरामणी बेल्बासे, दीपक भट्टराई, चोलाकान्त भुसाल, दीपकदेव पंगेनी, झवनाथ अर्याल, राजु अधिकारी, बालचन्द्र भट्टराई र ईश्वर कुईकेल छन् । केही ठाउँमा सर्वसम्मत चयन भएकोप्रति प्रमुख निर्वाचन अधिकृत लिम्बुले जानकारी दिए । उनले निर्वाचन लोकतान्त्रि अभ्यास भएकोले यसलाई सबैले स्वीकार गरेपनि समाजसेवा गर्ने संस्थामा सहमतिले चुनिनु उदाहरणीय कार्य भएको बताए ।

केही उम्मेद्वारको उम्मेद्वारी रद्द भएको सम्बन्धमा प्रतिक्रिया दिँदै कानूनसम्मत ढंगबाट सर्वसम्मतिले निर्णय गरिएको दावी समेत गरे । निर्वाचन प्रमुख आयुक्त लिम्बुले सर्वसम्मत भएका र चुनावका लागि उम्मेद्वारी दिने सबैलाई शुभकामना दिँदै अष्ट्रेलियामा रहेका नेपाली समूदायबीचको एकतालाई अझ मजबुत बनाउन सबैमा आह्वान पनि गरेका छन् । ‘हामी निस्वार्थ भावनाले काम गरिरहेका छौं र समूदायले गरेको विश्वासमा हामी खरो उत्रनेछौं भन्नेमा विश्वस्त छौं’ उनले भने ‘निर्वाचनमा उत्साहपूर्वक सहभागी बनौं र सही नेतृत्व चयन गरेर समूदायलाई सकारात्मक बाटोमा लैजान आफ्नो भूमिका निर्वाह गरौं ।’

सम्बन्धित शिर्षकहरु