-सुन्दर शिरिष
असार १२ । सिन्धुपाल्चोक,‘मेरो पनि घर ध्वस्त भएको छ । मेरो पनि परिवार छन् । भूकम्प भएको यो दुई महिनाको अवधिमा एक दिन मात्र घर पुगेको छु । मन्त्रीज्यू हामी कर्मचारी चाहिँ पीडित होईन र ?’ जिल्ला नापी कार्यालयका प्रमुख शरद मैनालीले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई प्रश्न गरिरहँदा जिल्लास्थित सवै कर्मचारीहरु भावुक भए ।
शुक्रबार सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आयोजित भूकम्पपछिको व्यवस्थापन र सेवाप्रवाह सम्बन्धी समिक्षा बैठकमा मैनालीले मन्त्री पण्डितसमक्ष मनको बह पोखेका हुन् । उनले मन्त्रीसमक्ष भने– ‘भूकम्प भएको दुई दिन देखि म यस जिल्लामा अहोरात्र खटेको छु । हामीजस्तो कर्मचारीलाई सरकारले के व्यवस्था गर्छ ?’
उनको प्रश्नमा मन्त्री पण्डितले यसपटकको निजामती कर्मचारी पुरस्कार भूकम्प पीडित क्षेत्रमा सफलतापूर्वक काम गरेको कर्मचारीलाई मात्र प्रदान गर्ने बताए । ‘सरकारले भूकम्पमा काम गरिरहेका कर्मचारीको उच्च मूल्याङ्कन गर्छ’, उनले भने– ‘यो वर्षको निजामती पुरस्कार भूकम्प पीडित क्षेत्रमा सफलतापूर्वक काम गरेको कर्मचारीलाई मात्र दिने मन्त्री परिषद्बबाट निर्णय गराईसकेको छु ।’ उनले संकटबाट नभाग्न कर्मचारीलाई सचेत समेत गराए । ‘भूकम्पले धेरै क्षति गराएको जिल्ला मध्ये यो पनि एक हो’, उनले भने– ‘यस जिल्लामा आएर काम गर्ने कर्मचारीलाई स्वागत छ तर जान मनाही ।’
जिल्लामा आएका कर्मचारीहरु नखटिएको पाईए तुरुन्त निलम्बन गर्ने पण्डितले चेतावनी पनि दिए । ‘जहाँ अफट्यारो छ त्यहाँ कर्मचारीहरु खट्दैनन् भने तिनीहरुको काम छैन’, उनले भने– ‘काम नगर्नेहरुको तथ्याङ्क दिनुस् उनीहरुलाई तीन दिन भित्र फर्काउने वा निलम्वन गर्ने गरिसक्छु ।’ राहत वितरणमा सरकारले गरीबहरुलाई प्राथमिकता दिने आश्वासन दिँदै मन्त्री पण्डितले सरकारको क्षमता अनुसार राहत वितरण गरिरहेको जिकिर पनि गरे ।








