असार ९ । काठमाण्डौ,भूकम्पबाट अति प्रभावित जिल्लाहरुमा महिलाहरुको अवस्था बारेमा अनुगमन गरिरहेको अन्तरपार्टी महिला संजालले अब केन्द्रीय प्रतिनिधिहरु खटाएर यस कार्यलाई अघि बढाउने भएको छ । सन्जालले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला जिल्लामा काम भइरहेको र अब केन्द्रीय प्रतिनिधिहरु खटिएर अनुगमनलाई अन्तिम रुप दिने जानकारी दिएको छ ।
संजालकी अध्यक्ष शशी श्रेष्ठले असार १० गतेबाट असार २५ गतेसम्म गरिने अनुगमनका लागि भूकम्पबाट अति प्रभावित १५ जिल्लामा टोली खटिने जानकारी दिनु भयो । संजालले महिलाहरुको अवस्था र उनीहरुको आवश्यकता, स्थानीयस्तरमा भएको वडा स्तरीय नागरिक मंचमा महिलाको सहभागिता र मंचको काम महिलामैत्री भए, नभएकोलगायतका विषयमा अनुगमन गर्ने छ ।
साथै संजालले भूकम्प प्रभावित क्षेत्रको पुननिर्माणका लागि सरकारले गठन गर्ने भनेको उच्च स्तरीय प्राधिकरणका साथै त्यससँग सम्बन्धित हरेक निकायमा कम्तीमा एक तिहाइ महिला सहभागिता हुनुपर्ने माग पनि गरेको छ ।








