दाता सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय सहभागीहरु आउन थाले

असार ८ ।काठमाडौं,असार १० गतेदेखि सुरु हुने दाता सम्मेलनमा भाग लिन अन्तर्राष्ट्रिय सहभागीहरु आजदेखि काठमाण्डौ आउने क्रम सुरु भएको छ । सरकारद्वारा आयोजित दाता सम्मेलनका लागि दाता राष्ट्रका अतिथिहरु काठमाण्डौ आउने क्रम सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । अल्पविकसित मुलुक हेर्ने उपमहासचिव ज्ञानचन्द्र आचार्य र एसिया प्रशान्त क्षेत्रका लागि राष्ट्रसंघका सहायक महासचिव हालोलिङ सु काठमाडौं आइसक्नु भएको छ ।

छिमेकी भारत र चीनबाट विदेश मन्त्रीहरु आउने तयारी भएको छ ।भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यीले दुई दिने नेपाल भ्रमण गर्नेछन । नर्वे, जापान, भुटान, बंगलादेश र श्रीलंकाबाट पनि मन्त्रीस्तरको सहभागिता रहनेछ । युरोपेली युनियनले उच्चायुक्त पठाउने छ । एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ ।
भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन हुने सम्मेलनमा उनीहरुसहित सात मुलुकको मन्त्रिस्तरीय सहभागिता रहनेछ ।सोल्टी होटलमा हुने सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुनेछ ।
सरकारले अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा सम्मेलन तयारी समिति बनाएको थियो । नेपाल आइपुगेका सहभागीलाई भोलि काठमाडौं र आसपासका भुकम्प प्रभावित क्षेत्रका स्थलगत अवलोकन गराइने छ ।

सम्बन्धित शिर्षकहरु