असार ७ । काठमाडौँ, यस पटकको एसएलसीमा काठमाडौंकै एक बोर्डिङ र एक खुला विद्यालयको परिणाम शून्य (नील) भएको छ । ललितपुर र भक्तपुरका स्कुलचाहिँ नीलबाट जोगिए । कपनस्थित माउन्ट एभरेस्ट इङलिस स्कुल र फर्पिङस्थित शिखरापुर मावि (खुला विद्यालय)बाट एक जना पनि उत्तीर्ण भएनन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
शिक्षा कार्यालयका तथ्यांक अधिकृत टेकेन्द्र ढकालका अनुसार कपनको बोर्डिङ स्कुलबाट चार परीक्षार्थी सहभागी रहेकामा सबै अनुत्तीर्ण भए । त्यसैगरी प्रौढलाई लक्षित गरी फर्पिङमा स्थापित खुला विद्यालयबाट ९ महिलासहित पन्ध्र परीक्षार्थी सहभागी भएकामा सबै नै अनुत्तीर्ण भए । चाबहिलस्थित यस्तै किसिमको ज्ञानज्योति महिला विद्यालयबाट ३५ परीक्षार्थीमध्ये चार मात्र पास भए । त्यसैगरी पुतलीसडकस्थित अमन इङलिस बोर्डिङ स्कुलका ३६ परीक्षार्थीमध्ये एक मात्र पास भएका छन् ।








