असार ५ । काठमाडौँ, यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३।७५ अङ्कले घटेर अन्तिम दिन ९२४.६० अङ्कमा पुगेको छ ।
गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेको थियो ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीहरुको सात हजार ५८ कारोबारबाट रु ९८ करोड ५७ लाख १८ हजारबराबरका २८ लाख ९५ हजार आठ सय ३० कित्ता सेयर खरिद बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ३९।१६ प्रतिशत कम हो । गत साता १५४ कम्पनीहरुको १० हजार ७७६ कारोबारबाट रु एक अर्ब ६२ करोड पाँच लाख ७२ हजारबराबरका ३९ लाख ८८ हजार ४० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
यसैगरी समूहगत परिसूचकहरुको उतारचढावमा वाणिज्य बैंक समूहको परिसूचकमा ५.०६, विकास बैंक समूहमा ४.४९, वित्त कम्पनीको परिसूचकमा ३.६६, जल विद्युत् कम्पनीको परिसूचक ६.६९ र अन्य कम्पनीको परिसूचकमा ४.७ अङ्कले घटेको छ ।
त्यसैगरी यस साता होटेल समूहको परिसूचकमा ९.५६, बिमा समूहको परिसूचकमा ११.५२, उत्पादनमूलक समूहको परिसूचकमा १७.३४ अङ्कले बढेको थियो भने व्यापार समूहको परिसूचकमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।
‘क’ वर्गका कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १.१३ अङ्कले घटेर १९७.७१ अङ्कमा आइपुगेको छ ।
यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा सेन्चुरी कमर्सियल बैंक अग्रस्थानमा रहेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।








