बाह्र माओवादी मारिए

जेठ २६ । नयाँ दिल्ली, पू्र्वी भारतको दुर्गम जङ्गलमा सुरक्षाबल र विद्रोहीबीच भएको दोहोरो गोली हानाहानमा पारी १२ माओवादी मारिएको प्रहरी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।

प्रहरीका अनुसार पूर्वी भारतीय झारखण्ड राज्यको एक जङ्गलमा सोमबार अबेर राति संदिग्ध हतियारधारीहरुले आक्रमण सुरु गरेका जनाइएको छ ।

यस क्षेत्रमा विद्रोहीहरुको बलियो प्रभाव रहेको बताइएको छ । यहाँ पहिले पनि आक्रमण माओवादीहरुले सुरक्षाकर्मीलाई आक्रमण गर्ने गरेका थिए ।

सो जङ्गलमा प्रहरी र ती विद्रोहीबीच एक घण्टासम्म दोहोरो भिडन्त भएको थियो । सो भिडन्तमा परी १२ माओवादी विद्रोही मारिएका प्रहरी स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

भारतमा सन् १९६० देखि माओवादी विद्रोहीहरुले विद्रोह सुरु गरेका हुन् । यस विद्रोहका कारण हजारौँ व्यक्तिको ज्यान गएको बताइएको छ ।

भारतका २० वटा राज्यमा ती माओवादीहरु सक्रिय रहेका अनुमान गरिएको छ । भारतको छत्तिसगढ, ओडिसा, बिहार, झारखण्ड र माहराष्ट्रमा माओवादीहरुको प्रभाव रहेको बताइन्छ ।

प्रान्तीय राजधानी राँचीदेखि १२० माइल उत्तरपश्चिममा पर्ने यस इलाकामा भएको दोहोरो भिडन्तमा सुरक्षाबलले केही हातहतियारसमेत कब्जा गरेको जनाइएको छ ।

सो भिडन्तको क्रममा केही विद्रोहीहरु भने त्यहाँबाट भाग्न सफल भएका भन्दै उनीहरुको खोजीकार्य भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

माओवादी विद्रोहका कारण त्यहाँ कयौँ व्यक्ति मारिएका छन् । त्यस्तै सुरक्षाकर्मी पनि सयौँको सङ्ख्मया मारिएका छन् ।

भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहले यस समस्यालाई भारतको एक गम्भीर आन्तरिक समस्याको रुपमा लिनुभएको थियो ।

तर वर्तमान सरकारले भने यस हिंसात्मक विद्रोहको समाधानका लागि शान्तिपूर्ण वार्ता वा अन्य कुनै प्रयास गरेको देखिँदैन ।

फिलिपिन्समा पाँच कम्युनिस्ट विद्रोही मारिए
यसैबीच फिललिपिन्सको उत्तरी पामपाङ प्रान्तमा प्रहरीसँग भएको भिडन्तका क्रममा कम्तीमा पनि पाँच जना कम्युनिस्ट विद्रोही मारिएको समाचार छ ।

सो क्षेत्रमा कम्युनिस्ट विद्रोहीले गस्तीमा रहेको सुरक्षाको समूहलाई गोली प्रहार गरेका थिए ।

उक्त आक्रमणपछि प्रहरीले गरेको जवाफी कारबाहीका क्रममा ती विद्रोही मारिएका राजधानी मनिलाबाट प्राप्त समाचारमा जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु