काठमाडौँ, एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले सम्झौताले सवैलाई पूर्ण सन्तुष्ट बनाउन नसक्ने बताएका छन् । सोमबार दलहरूबीच भएको १६ बुँदे सम्झौताको बारेमा सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस लेख्दै नेता डा. भट्टराईले १६ बुँदे संवैधानिक सहमति २०६२ मंसिर ७ गते भएको १२– बुँदे समझदारीदेखिको राजनीतिक यात्राको अन्तिम कडी भएको समेत बताएका छन् ।
उनले यसलाई नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको इतिहासको स्वर्ण घोषणा भएको समेत उल्लेख गरेका छन् ।
उनले चुनौति अझै नसकिएको बताउँदै यो प्रकृयाले पूर्णता प्राप्त गर्न अझै केही समय लाग्ने समेत बताएका छन् । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिसन्तुलनलाई ख्याल गर्दै यो प्रकृया पक्षधर सबैले सुझबुझपूर्ण भूमिका निर्वाह गर्नुपर्नेछ’ उनले भनेका छन् ‘हीनतावोध र आत्मश्लाघा दुवैबाट वच्नुपर्नेछ ।’
त्यस्तै उनले अगाडि भनेका छन् ‘यो प्रक्रियामा कसको के भूमिका रह्यो अझै मूल्यांकन गर्ने वेला भएको छैन। इतिहास निर्माता र इतिहास लेखक अक्सर एउटै हुँदैनन्। कुनै पनि सम्झौताले सबैलाई पूर्ण सन्तुष्ट बनाउनै सक्दैन। त्यस्तो सम्झौता इतिहासमा न आजसम्म कतै भएको छ, न भविष्यमा हुनेवाला छ। सबैको वीन–वीन भनेको सबैको लस लस पनि हो’








