लोग्शरी कुँवर
जेठ २४। कैलाली, व्यवसायीहरुको छाता संगठन कैलाली उद्योग वाणिज्य संघमा उद्यमी महिलाले ईतिहास रचेकी छिन् ।
कैलाली उद्योग वाणिज्य संघको आईतबार सम्पन्न मत परिणाम अनुसार ईतिहास रच्दै उद्यमी महिला रुक्मणी देवकोटाले सबै उम्मेदवार भन्दा बढी मत प्राप्त गरी वस्तुगत तर्फ उपाध्यक्षमा विजयी भएकी हुन् ।
सुदूरपश्चिमका नौं वटै जिल्लाको ईतिहास हेर्दा कुनै पनि महिला हालसम्म प्रमूख पदाधिकारी पदमा पुग्न सकेको भेटिदैन । महिलाले चुनाव जितेर पदाधिकारी पदमा पुगेको यो पहिलो पटक हो ।
जम्मा पाँच हजार ८ सय मतदाता रहेको कैलाली उद्योग वाणिज्य संघको मतदानमा ३ हजार ५ सय ४२ मत खसेका थिए । मतदानमा सबैभन्दा बढी देवकोटाले १८ सय २१ मत प्राप्त गरेकी छिन् ।
संघको शुक्रबार सम्पन्न अधिवेशनमा व्यवसायी मोहनराज शर्मा र शंकर बोगटी छुट्टाछुट्टै प्यानलका साथ चुनावी मैदानमा उत्रिएपछि देवकोटाले शंकर बोगटीको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी थिइन् ।
बोगटीको पुरै प्यानलले जितेपछि मोहनराज शर्माको टीमबाट सदस्य पदमा उम्मेदवारी दिएकी सुदूरपश्चिमकी पहिलो सौन्दर्य व्यवसायी उद्यमी निसा सिंहले भने पराजय व्यहोर्नु पर्यो ।
बोगटी र शर्माको पुरै प्यानलबाट प्यानलबाट दुई जनामात्र महिलाहरुको उम्मेदवारी परेको थियो ।
धनगढीस्थित रुपक होजियारीकी सञ्चालक देवकोटा लामो समयदेखि सुदूरपश्चिममा रहेर व्यवसाय गर्दै आईरहेकी छिन् ।
विजय पश्चात देवकोटाले आफुले संघमा रहेर महिला उद्यमी व्यवसायीहरुको हक हितका लागी विशेष जोड दिने प्रतिवद्धता व्यक्ति गरिन् ।
कसले कसले जिते ?
अध्यक्ष पदमा व्यवसायी शंकर बोगटीले प्रतिद्वन्द्वी मोहनराज शर्मालाई ४ सय ७७ मत अन्तरले पराजित गरेका छन् । बोगटीले १ हजार ९ सय ३ मत र शर्माले १ हजार ४ सय २६ मत प्राप्त गरेका छन् । संघमा बोगटी निवर्तमान कोषाध्यक्ष र शर्मा पूर्व महासचिव हुन् ।
त्यसैगरी उपाध्यक्षमा उद्योग तर्फ हिक्मत बहादुर कुँवर (१७३८) र उपाध्यक्ष बाणिज्य तर्फ गजराज पाण्डे (१७१२) मत प्राप्त गरेर विजयी भए ।
महासचिवमा रुपेश स्वाँर (१७७१), कोषाध्यक्षमा पुष्पराज कुँवर (१७६२) र सचिवमा भीमबहादुर देउवा १७८६) विजयी भएका छन् ।







