वैशाख ३० । काठमाडौं, बैशाख १२ गते गएको विनाशकारी भूकम्पले केही क्षति पुगेको भोटेकोशी जलविद्युत आयोजनामा मंगलबार गएको भूकम्पबाट पुरिएको छ । आयोजनाको पावर हाउसमा पानी पठाउने पाइपहरु फुटेको छ । संरचना बगेपछि करिव ५ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।आयोजनाको प्रमुख लगानीकर्ता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले आयोजनास्थल अहिले बगरमा परिणत भएकोले पावर हाउस पुनर्निर्माण गरी सञ्चालन गर्नका लागि एक बर्ष लाग्ने जानकारी दिनु भयो । पहिलो झड्काले ठूला ढुंगाहरु झरेर आयोजनाका पाइपहरु कुच्चिएका थिए । दोस्रो दिन गएको भूकम्पबाट झनै ठूला ढुंगाहरु झरेर पाइप ध्वस्त भएको दाहालले बताउनु भयो ।
पाइप ध्वस्त भएपछि करिव ४ किलोमिटर टनेलमा जमेको पानी जोडले पावर हाउसमा पसेपछि आयोजना बगरमा परिणत भयो । पहिलो दिनको भूकम्पपछि ड्याम बन्द गरिएको थियो, तर दोस्रो दिन पाइप फुटेर टनेलमा जम्मा भएको पानी र लेदो जोडले बगेर पावर हाउसमा पसेपछि सबै संरचना बगाइदिएको हो । आयोजनाको बिल्डिङ देखिए पनि भित्रका औजारहरु बगेका छन् । आयोजनाको पावर हाउसमा अन्डरग्राउन्ड ४ तला रहेको थियो । त्यो ४ तला माथिबाट जोडले आएको लेदोयुक्त पानीले भरिएको छ । पावर हाउसा ठूला ढुंगा र माटोले पुरिएको अवस्थामा छ ।
दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर भूकम्पका ठूला झड्का गएपछि सो क्षेत्रमा पहिरो गइरहेको छ ।








