व्यवस्थापिका–संसद्को बैठकमा सङ्कल्प प्रस्ताव पारित

वैशाख ३० ।काठमाडौँ,व्यवस्थापिका–संसद्को बैठकले भूकम्पपीडितलाई राहत बाँड्ने र पुनःस्थापना गर्नेबारेको सङ्कल्प प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

यही वैशाख १२ गतेको विनाशकारी भूकम्पले पुर्याएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गर्दै सबै मतान्तर बिर्सिएर सहकार्य, सहमति र एकताका साथ कार्य गर्ने प्रतिज्ञासहित गत शनिबार सो प्रस्ताव प्रस्तुत गरेका थिए ।
नेपाली काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठ, नेकपा एमालेका प्रमुख सचेतक अग्निप्रसाद खरेल र एकीकृत नेकपा माओवादका प्रमुख सचेतक गिरिराजमणि पोखरेल सो सङ्कल्प प्रस्तावको प्रस्तावक हुनुहुन्छ भने व्यवस्थापिका-संसदमा प्रतिनिधित्व गरेका २५ दल र दुई जना स्वतन्त्र सांसद्ले प्रस्तावको समर्थन गर्नुभएको छ ।
एकताबद्ध भएर राष्ट्रिय विपत्तिको सामना गर्ने सङ्कल्पका साथ व्यवस्थापिका–संसद्को बैठकले सङ्कल्प प्रस्तावमार्फत सरकारलाई निर्देशनसमेत दिएको छ ।
सरकारलाई दिएको निर्देशनमा भूकम्पपीडितको राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्न सबै निकायलाई क्रियाशील एवम् प्रभावकारी बनाई समन्वय कायम गर्दै विस्तृत कार्ययोजनालाई चरणबद्ध रुपमा कार्यान्वयन गर्ने, भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई उचित राहत रकम अविलम्ब उपलब्ध गराउने, भूकम्पमा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने र यस क्रममा अपाङ्गता भएका व्यक्तिलाई थप राहत प्रदान गर्ने बुँदाहरु छन् ।

सम्बन्धित शिर्षकहरु