दोस्रो भूकम्पपछि सिन्धुपाल्चोकमा मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

वैशाख ३० ।मेलम्ची, वैशाख १२ गते र मंगलबार गएको भूकम्पमा परी सिन्धुपाल्चोकमा मात्र तीन हजार २२६ जनाको मृत्यु भएको छ ।
हिजोको भूकम्पमा बुधबार अपराह्नसम्मा १३ जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपकराज खरेलले बताउनुभयो ।
भूकम्पले अवरुद्ध भएको अरनिको राजमार्गअन्र्तगतको बाह्रबिसे–तातोपानी सडकमा यातायातका साधन सञ्चालन भएको एक हप्ता बित्न नपाउँदै हिजाको भूकम्पको शक्तिशाली झट्काले उक्त सडक पुनः बन्द भएको जानकारी उहाँले दिनुभयो ।उहाँका अनुसार सडक पुनःसञ्चालनको प्रयास भइरहेको छ ।
यसैगरी उद्धार तथा राहतका काममा नमुना क्षेत्रका रुपमा पाइएको सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ मा नेपाली सेनाको भीमकाली गुल्मले अहोरात्र खटेर पीडितको सेवा गरिरहेको छ ।
अहिलेसम्म नेपाली सेनाले यस क्षेत्रबाट ४९ जनाको जीवतै उद्धार गरेको छ । सेनाको साहसपूर्ण कामको सर्वत्र प्रशंसा भएको छ ।
उक्त क्षेत्रका २४ गाविसमा एक हजार ४३१ को मृत्यु भएको उक्त गुल्मका सेनानी प्रेम हमालले बताउनुभयो । उच्च हिमाली भेगका केही वडाको तथ्याङ्क आउन बाँकी रहेको जानकारी पनि उहाँले दिनुभयो ।
दैवी विपत्तिमा परी घाइतेभएका ८१५ मध्ये २०६ जनालाई हेलिकप्टर, एम्बुलेन्स तथा अन्य सवारी साधनबाट उपचारका लागि धुलिखेल तथा काठमाडौँ पुर्याइएको सेनानी प्रेम हमालले बताउनुभयो ।
भूईचालोमा परी घाइते भएकाहरूका निम्ति उपचारको व्यवस्थासमेत सोही गुल्मले गरेको छ । स्वदेशी एवम् विदेशी चिकित्सक एवम् समाजसेवी सङ्घसंस्थाले उक्त गुल्मको नेतृत्वमा सेवा प्रवाह गरिरहेको छ ।

सम्बन्धित शिर्षकहरु