भूकम्पको शक्तिशाली धक्काले चर्किएका घरहरु भत्किए

वैशाख ३० ।काठमाडौँ,मङ्गलबार गएको भूकम्पको शक्तिशाली पराकम्पले पहिलो भूकम्पबाट चर्किएका राजधानीका घरहरु भात्किएको तथा थप क्षति पुगेको छ । मङ्गलबार गएको शक्तिशाली पराकम्पले थप क्षति पुर्याएको छ ।

भूकम्पले चर्किएका काठमाण्डौको गोङ्गबु, सामाखुसी र भक्तपुर र ललितपुरका कतिपय क्षेत्रका पुराना घरमात्र होइन नयाँ घरसमेत भत्किएका छन् । कतिपय सामान्य मर्मत गरी बस्न मिल्ने अवस्थाका घरमा थप क्षति पुगेको देखिएको छ ।
पराकम्पले गोङ्गबु सामाखुसी क्षेत्रमा आधा दर्जनभन्दा बढी ठूला भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । अन्य कैयौँ घर जमिनमा धस्सिएका छन् । त्यस्तै भक्तपुर र ललितपुरका कतिपय क्षेत्रमा यसअघि आधा भत्केका घर पूर्ण रुपमा भत्केका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनले यही वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएका घर बस्न योग्य रहे-नरहेको बारेमा गरिएको जाँचका क्रममा सामान्य मर्मत गरी बस्न मिल्ने सुझाव दिएका कतिपय घर समेत पराकम्पले थप क्षति पुगेको बताएको छ ।
एसोसिएसनले वैशाख १८ गतेदेखि करिब तीन हजार स्वयम्सेवी इन्जिनियरको सहयोगमा मङ्गलबारसम्म ३० हजारभन्दा बढी भूकम्पबाट चर्केका घरमा पुगेर द्रुत लेखाजोखा मूल्याङ्कन (र्यापिड भिजुअल एसेसमेन्ट) गरी बस्न मिल्ने नमिल्ने जाँच गरेको थियो ।
त्यसरी जाँचिएका घरमध्ये ५० प्रतिशत बस्न मिल्ने सामान्य अवस्थाका, ३० प्रतिशत सामान्य मर्मत गरी बस्न मिल्ने र २० प्रतिशत बस्न नमिल्ने गरी क्षतिग्रस्त अवस्थामा रहेका देखिए पनि मङ्गलबार गएको शक्तिशाली पराकम्पले थप क्षति पुर्याएको हुन सक्ने एसोसिएसनका अध्यक्ष ध्रुवराज थापाले जानकारी दिनुभयो ।
एसोसिएसनले सहरी विकास तथा भवन निर्माण विभागसँगको सामन्वयमा आगामी शनिबारदेखि ती इन्जिनियरहरुमध्येबाट पाँच सयभन्दा बढीलाई विस्तृत अध्ययन र निरीक्षणका साथै मर्मतको तौरतरिकाबारे विषयगत तालिम दिएर खटाउने अध्यक्ष ध्रुवराज थापाले राससलाई जानकारी दिनुभयो ।भूकम्पबाट क्षति भएका घरमा घरधनीले सामान्य मर्मतका साथ टालटुल गरेर पुनः भाडामा दिनसक्छन् । त्यसले अर्काे खतरा ननिम्त्याओस् भनेर एसोसिएसनले तयारी गर्न लागेको बताएको छ ।वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट मुलुकभर सर्वसाधारणका अहिलेसम्म एक लाख ९१ हजार ५८ घर पूर्ण रुपमा क्षति भएको छ र एक लाख ७५ हजार १६२ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै १० हजार ७१८ सरकारी भवन पूर्ण रुपमा क्षति भएको र १४ हजार ७४१ सरकारी कार्यालयमा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ ।
इन्जिनियरको टोलीले भूकम्पबाट क्षति भएका घरको रातो (बस्न नमिल्ने), पहेँलो (सामान्य मर्मत गरी बस्न मिल्ने) र हरियो (बस्न मिल्ने) गरी तीन भागमा वर्गीकरण गरी अभिलेख राखे पनि घरधनीलाई भने बस्न मिल्ने र नमिल्ने बारेमा मात्र जानकारी दिएको थियो ।

सम्बन्धित शिर्षकहरु