भूकम्पपछि गाउँमा गएको पहिरोले थामी समुदाय विस्थापित

दोलखा,भूकम्प गएको दुई साताभन्दा बढी भइसक्दा पनि खोपाचाँगु गाविस-१ उकुराङमा लगातार पहिरो गएपछि थामी समुदाय विस्थापित भएको छ । पहिरो लगातार गइरहेका कारण यहाँ बस्दै आएको थामी समुदाय गाउँ फर्किन सकेको छैन । उकुराङमा बस्दै आएका थामी समुदायका १३ परिवार अहिले एक घण्टा टाढाको कालिञ्चोक गाविस–४ स्थित बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । पहिरो आउने क्रम जारी रहेकाले अहिलेकै अवस्थामा उनीहरु गाउँ फर्किन सक्ने अवस्था छैन । गाईबस्तु समेत गाउँमै अलपत्र अवस्थामा छन् ।

“गोठ बनाएर भएपनि बस्ने सोच थियो, पहिरो नै रोकिन्न,” स्थानीय बासिन्दा ६३ वर्षीय भक्त बहादुर थामीले भन्नुभयो । पहिरोको डरले भूकम्प आएदेखि कोही पनि गाउँ जान नसकेको उहाँले बताउनुभयो । गाईबस्तुको अवस्थाबारे थामी समुदाय अझै बेखबर छ । भूकम्पबाट पुरिएका गाईबस्तु गोठमै छन् । जङ्गलमा चराउन लगिएकाको अवस्था थाहा हुन सकेको छैन ।
“गाउँ पस्न डर लागिरहेको छ, अहिले पनि भीरबाट ठूल्ठूला ढुङ्गा खसिरहेका छन्,” बेगम्पुपारीको आफ्नो गाउँ देखाउँदै मनमाया थामीले भन्नुभयो । अग्लो भीरको काखमा अवस्थित उकुराङ गाउँको ठाउँठाउँमा बस्नै नसकिने गरी पहिरो गएको छ । जमिन चिराचिरा परेको छ । “अब गाउँ फर्किन सक्ने अवस्था छैन, सरकारले सुरक्षित ठाउँमा बसोबासको व्यवस्था मिलाई दिनुपर्छ,” उहाँले भन्नुभयो ।
सदरमुकाम चरिकोटदेखि करिब पाँच घण्टा ग्राभेल सडकको यात्रापछि कालिञ्चोक पुगिन्छ । ग्राभेल सडकबाट छुट्टिएपछि खोपाचाँगुको उकुराङ पुग्न तीन घण्टा पैदल हिँड्नु पर्छ । दुर्गम गाउँको विपन्न थामी समुदाय भूकम्पपछि छिमेकी गाउँ बेगुम्पामा टहरा बनाएर बसिरहेको छ । छिमेकी गाउँकाले पाक्नै लागेको गहु काटेर उनीहरुलाई टहरा बनाउन जमिन उपलब्ध गराएका छन् । घरमा पुरिएको अन्न निकालेर ल्याउन नसक्दा भोकभोकै बस्नु परेको उनीहरु बताउँछन् ।

सम्बन्धित शिर्षकहरु