एमालेले करिब दुई लाख स्वयंसेवक पुनःनिर्माणमा सघाउन खटाउने

काठमाडौँ,भूकम्पले भत्किएका संरचना पुनःनिर्माणमा सहयोग गर्न नेकपा एमालेले करिब दुई लाख स्वयंसेवक परिचालन गर्ने भएको छ ।शनिबार बसेको पार्टीको बैठकले भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले प्रभावित जिल्लामा करिब दुई लाख स्वयंसेवक परिचालन गरी स्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा खटाउने निर्णय गरेको हो ।

बैठकले जनताको सेवाका लागि पार्टी निकट विभिन्न भ्रातृ सङ्गठनको सहयोगमा ती स्वयम्सेवक खटाई राहत तथा पुनःस्थापना गर्ने निर्णय गरेको समितिका संयोजक ईश्वर पोखरेलले जानकारी दिनु भयो ।अति प्रभावित जिल्लामा प्राथमिकता दिएर निर्माण कार्य सुरु गरिने समितिका सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै प्रभावित जिल्लाका अञ्चल कमिटी त्यस क्षेत्रका नेता तथा सभासद्लाई सक्रिय बनाई राहत सङ्कलन तथा वितरणको जिम्मेवारी दिइएको छ ।पार्टीले स्थापना गरेको राहत कोषमा स्वदेश तथा विदेशबाट करिब रु ६५ लाख तथा भौतिक सामग्रीसहित राहत सङ्कलन भएको र ती सामग्री विभिन्न स्थानमा वितरणको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

सम्बन्धित शिर्षकहरु