बैशाख २५ ।काभ्रेपलाञ्चोक,राजधानी नजिकै रहेको काभ्रे र सिन्धुपाल्चोकका अधिकांश गाउँमा अझै पनि खाद्यन्न समेत नपुगेको पीडितहरुले बताइरहेका छन् ।बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट पीडित बनेकाहरुलाई देश तथा विदेशबाट समेत ठूलो मात्रामा खाद्यन्न आइरहेको अवस्थामा पनि सम्बन्धित पीडितले भने राहत पाउन सकेका छैनन ।
दुबै जिल्लामा रहेका जिल्ला दैवीप्रकोप उद्धार समितिले पनि आए जति सबै खाद्यान्न प्रभावित गाविसलाई प्राथमिकतामा राखेर पठाइरहेको बताइरहेका छन् । पुगेका राहत पनि गाविसको कार्यालय आसपासका पीडितबाहेक गाविसको दुर्गम वडाहरुसम्म अझै पुग्न सकेको छैन् ।
भूकम्प गएको १३ औँ दिनसम्म पनि खाद्यन्नसम्म नपाएको पीडितहरुले त्रिपाल पाउने आशै मारेका छन् । काभ्रेको सुगम मानिने धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाभित्रका धेरै वडाका पीडितहरुले राज्यले उपलब्ध गराएको भनिएको खाद्यन्न समेत नपाएको बताएका छन् ।
काभ्रेमा भारत सरकारले उपलब्ध गराएको खाद्यन्न गुणस्तरहीन पाइएको छ । काभ्रेका स्थानीय विकास अधिकारी एवं जिल्ला दैविप्रकोप उद्धार समितिका सदस्य सचिव चिरञ्जिवी तिम्सिनाका अनुसार समितिमा प्राप्त कतिपय खाद्यन्न सामग्रीको गुणस्तर मापनका लागि खाद्यप्रविधि तथा गुणनियन्त्रण विभागमा पठाइएको छ ।
काभ्रेसँग सिमा जोडिएको रामेछापको बेथान गाविसमा पुगेको राहत सामग्री पनि विरतण हुन नसकेको स्थानीय जयबहादुर पाण्डेले बताउनुभयो ।








