जेठ, १५ । काठमाडौँ, निर्माण व्यवसायी सञ्जय पौडेलमाथि सिरहामा गोली प्रहार गरिएको घटनाको नेपाल निर्माण व्यवसायी महासंघले भत्सर्ना गरेको छ । महासंघका महासचिव रामशरण देउजाले शुक्रवार एक विज्ञप्ती जारी गर्दै गोलीकाण्डमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गर्नु भएको छ । त्यस्तै घाइते व्यवसायी पौडेलको उपचार खर्चको सम्पुर्ण व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।
“व्यवसायीहरुको सुरक्षालाई लिएर महासंघले सरोकारवालाहरुको पटक पटक ध्यानाकर्षण गराउँदै आएपनि कुनै सुनुवाई नहुनु र एकपछि अर्को गरी व्यवसायीहरु माथि आक्रमणको घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको महासंघको ठहर छ ।’’ विज्ञप्तीमा लेखिएको छ । मुलुकको जटिल अवस्थामा पनि आफनो सीप, साधन र क्षमता सहित कार्यक्षेत्रमा खटिएका निर्माण व्यवसायीमाथि आगामी दिनमा आक्रमणका घटना नरोकिए महासंघ जस्तोसुकै बाध्यकारी कदम चाल्न पछि नपर्ने महासंघले जनाएको छ । पौडेलमाथि सिरहाको डुमरी गाविसस्थित नहरमा बुधवार राति अज्ञात समुहले गोली प्रहार गरेको थियो । पौडेलको अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको महासंघले जानकारी दिएको छ । पेटमा छड्के किसिमले गोली लागेकाले पौडेलको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।








