जेठ १२ । जेरुसेलम,अदालतले इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्टलाई भ्रष्टाचारको अभियोगमा जेल सजायको फैसला गरेको छ । उहाँलाई सोमबार एक जिल्ला अदालतले आठ महिनाको जेल सजाय तोकेको हो । गएको मार्च महिना उहाँविरुद्ध सो अदालतमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामाथि भएको सुुनुवाइपछि सोमबार यो सजाय सुनाइएको बताइएको छ ।
एहुद अल्मर्टले इजरायलमा सन् २००६ देखि २००९ सम्म प्रधानमन्त्रीका रुपमा काम गर्नुभएको थियो । उहाँ पदमा रहेको बेला भएको भनिएको एक भ्रष्टाचार मुद्दामा उहाँमाथि अनुसन्धान सुरु भएको थियो ।
उहाँले अपिल गर्नुहुने भएको छ । यो जिल्ला अदालतको फैसला भएकोले उहाँले इजरायलको उच्च अदालतमा अपिल गर्नुहुने भएको हो ।
उहाँका वकिलले पूर्व प्रधानमन्त्री अल्मर्टले अपिल गर्नुहुने जानकारी दिनुभएको छ ।








