जेठ ११ । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्राकृतिक प्रकोपले भत्काएका संरचना पुनःनिर्माणमा सघाउन विदेशी राष्ट्रहरु तयार रहेको जानकारी दिनु भएको छ । एसियाली राजनीतिक दल (आइक्याप)को अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर सोमबार स्वदेश फर्कनु भएका खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रकोप व्यवस्थापनका लागि विदेशीहरूले सघाउन चाहेका बताउनु भएको हो । मे २१ र २२ तारिखमा रसियामा भएको सम्मेलन सकेर खनाल स्वदेश फर्कनु भएको हो ।
सञ्चारकर्मीसँगको कुराकानीमा खनालले सम्मेलनमा नेपाललाई आइपरेको विपत्तिका विषयमा आफुले कुरा उठाउदा सम्मेलनमा सहभागी भएका सम्पूर्ण एसियाली देशहरू पुनःनिर्माणमा सघाउन तत्पर रहेको जानकारी दिनु भएको हो । नेपालको पुनःनिर्माणका विषयमा आइक्यापले छिट्टै छुट्टै कन्फ्रेन्सको आयोजना गर्ने कुरा पनि सम्मेलनका उठेको बताउनु भयो ।
त्यस्तै सम्मेलनमा नेपालमा साना तथा मझौला उद्योगहरूको स्थापना गर्ने र स्थानीय साधन र स्रोतको अधिकतम उपयोग तथा रोजगारीको सिर्जना गर्ने विषयमा पनि छलफल भएको थियो । ४० देशको सहभागिता रहेको सम्मेलनमा १५० बढी देश डेलिगेट्सको रूपमा सहभागि थिए ।








