जेठ ९ ।गोरखाबजार,हालै गएको विनाशकारी भूकम्पले जिल्लामा रहेका विभिन्न स्थानमा रहेका ७५ वटा स्वास्थ्य संस्थामा पूर्ण क्षति भएको छ । यस्तो जिल्लाभरमा गरेर ८३ वटा स्वास्थ्य संस्था रहेको थियो ।औषधि तथा अन्य उपचार सामग्रीसमेत पुरिएपछि उपचार सेवा प्रभावित भएको जिल्ला स्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कतिपय स्वास्थ्य चौकीले भने गाविसको भवनमा रहेर सेवा प्रवाह गरिरहेका छन् । कतिपय अझै खुल्न सकेका छैनन् । बाहिर जिल्लाबाट आएका स्वास्थ्यकर्मीको टोलीले शिविर सञ्चालन गरेर उपचार सेवा दिइरहेको उहाँले बताउनुभयो । अहिलेसम्म क्षतिको विस्तृत विवरणसमेत आउन सकेको छैन ।बारपाक गाविसभन्दा माथिका लाप्राक, गुम्दा, उहिया, लापु, केरौंजा, कासीगाउँ, सिर्दिबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो, सामागाउँ गाविसको अवस्था अझै नआएको उहाँले बताउनुभयो । मोटरबाटो नभएका ती गाविसमा गोरेटो र घोडेटो बाटो समेत पहिरिएर औषधि ढुवानीमा समस्या भएको छ ।








