जेठ ८ ।काठमाडौँ,प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि राहत रकम सङ्कलनलाई प्रभावकारी बनाउने, सङ्कलित राहत रकम र सामग्री भूकम्पपीडित समक्ष पुर्याउने लगायत बिषयमा सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिसँग छलफल गर्नु भएको छ ।
सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनःनिर्माण सञ्चालन गर्न स्थापित पुनःस्थापना तथा पुनःनिर्माण कोषलाई प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको थियो ।
भेटमा सामाजिक क्षेत्रका अगुवाले गाउँ तहसम्म कुनै पनि गैरसरकारी निकायको संस्थागत संरचना नभएकाले राहत सङ्कलन र वितरणमा सरकारी संयन्त्र नै प्रभावकारी हुने बताउनुभयो । उहाँहरुले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा को को रहने र कसरी खर्च हुन्छ भन्ने जानकारी नभएकाले केहीले संशय भएकाले सोको निवारण गर्न यसको सञ्चालक समितिमा निजी क्षेत्र र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व पनि समावेश गर्न उचित हुने सुझाव दिनुभयो ।छलफलका क्रममा प्रधानमन्त्री कोइरालाले नेपाल सधैँ सङ्घर्ष, तदर्थवाद र सङ्क्रमणबाट गुज्रिनुपरेकाले हर क्षेत्रमा संस्थागत विकास हुन नपाएको उल्लेख गर्दै स्रोत साधन र पर्याप्त दक्ष जनशक्तिको अभावमा पनि नेपालमा भएको खोजी, उद्धार र राहतको विकसित मुलुकका प्रतिनिधिले समेत प्रशंसा गरेको बताउनुभयो ।
प्रधानमन्त्री कोइरालाले विपत्तिबाट भएको विनाशको त्रासदीबाट नागरिकलाई सामान्य अवस्थामा ल्याउन, पुनःस्थापना र पुनःनिर्माणलाई व्यवस्थित ढङ्गले छिटो सम्पन्न गर्न र नेपालको उज्ज्वल भविष्यप्रति आशा जगाउन सबैले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने बताउनुभयो ।








