६ सयमा किनेको पाल साँढे तीन हजारमा बेच्ने विरुद्ध मुद्दा

काठमाडौँ, अत्याधिक महँगोमा पाल बिक्री गर्नेविरुद्ध प्रहरीले कालाबजारी मुद्दा दायर गर्ने भएको छ ।कागेश्वरी मनोहरा नगरपालिकाको थलीमा रु ६०० मा किनेको पाल रु तीन हजार ५०० बेच्दै गरेका गोविन्द चौधरीलाई आइतबार बौद्धस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको हो ।  रङ्गेहात पक्राउ गरी स्थानीयबासीले प्रहरीलाई बुझाएका थिए ।

नगरपालिकाले भूकम्प पीडितलाई वितरण गर्ने गरी ल्याएका पाल प्रहरी प्रभाग थलीमा राखिएकामा प्रहरीको संलग्नतामा बजारमा लगेर बढी मूल्यमा विक्री गरिएको स्थानीयवासीको आरोप छ ।

स्थानीयवासीको उजुरीका आधारमा वृत्तले कालाबजारी गर्ने चौधरीलाई पक्राउ गरी नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । वृत्तका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मी यस सम्बन्धमा भन्नुहुन्छ–“कालाबजारी गर्ने कसैलाई पनि छोड्दैनौँ, कानुनी कारबाहीको दायरामा ल्याउँछौँ, कुनै प्रहरीले बदमासी गरे ती पनि सजायबाट मुक्त हुने छैनन्” ।

भैँचालो पीडिनका लागि ल्याइएका पाल बेच्नेलाई कारबाहीको माग गर्दै आज नगरपालिकावासीले थलीमा प्रदर्शन गरेका थिए ।

सम्बन्धित शिर्षकहरु