सुदूरपश्चिममा हावाहुरीबाट मर्नेको संख्या पाँच पुग्यो

वैशाख ३१ ।धनगढी,गत साता आएको हावाहुरीका कारण सुदूरपश्चिममा हावाहुरीले ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । हावाहुरीले घरको छतबाट खस्दा घाइते भएका कञ्चनपुरका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै हावाहुरीले ज्यान गुमाउनेको संख्या पाँच पुगेको हो ।

बैसाख १७ गते राति आएको हावाहुरीले घाइते भएका भीमदत्त नगरपालिका-१३,बडैपुरका ८० वर्षका सन्तबहादुर गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । हावाहुरीले गम्भीर घाइते भएका गुरुङको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

राति घरको छतमा सुतेका गुरुङलाई हावाहुरीले खाटसहित भुईमा खसालेको थियो । छतबाट खाटसहित खसेर घाइते भएका गुरुङलाई महाकाली अञ्चल अस्पतालले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको थियो ।

बैसाख १७ गते रातिको हावाहुरीले कञ्चनपुरकै दोधारा-चाँदनी नगरपालिका र कृष्णपुर गाविसमा एक-एक जना र कैलालीमा दुई जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु