वैशाख १६ । दोलखा, भूकम्प गएको पाँच दिन सम्म पनि आफुहरुले राहत सामग्री नपाएको भन्दै भूकम्पपीडितहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समितिमा विरोध प्रदर्शन गर्दै तोडफोड गरेका छन । त्रीपाल, खानेपानी, खाद्यान्न सामग्री नपाएको भन्दै पीडितहरुले प्रशासन र जिविसमा तोडफोड गरेका हुन् ।
विरोध प्रदर्शन र नाराबाजी गर्दै पीडितहरुले प्रशासन कार्यालयमा पसेर टेबुल, कुर्सी निकाली बाहिर ल्याइ जलाएका छन् । पीडितले लामाबगरमा १६ परेका यार्सागुम्बा सङ्कलकहरुको उद्धागर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।
सयौँको सङ्ख्यामा प्रशासन र जिविस कार्यालय पुगेका पीडितले राहत सामग्री नपाएको भन्दै बिहानैदेखि विरोध प्रदर्शन गरेका हुन् । प्रशासनले अहिलेसम्म राहतका कुनै पनि सामग्री बाँड्न सकेको छैन । गाउँगाउँबाट पीडितहरु सामग्री लिन प्रशासन कार्यालय आउने क्रम बढेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले राहत सामग्री जिल्लामा उपलब्ध हुन नसकेका कारण पीडितलाई वितरण गर्न नसकिएको बताउनुभयो ।








