वैशाख ४ ।जाजरकोट,जाजरकोटमा रुघाखोकी र स्वाइन फ्लु फैलिएको कारण थप तीन जनाको मृत्यु भएको छ । यो सँगै मर्नेहरुको संख्या २१ पुगेको छ ।जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा तीन सातादेखि फैलिएको स्वाइन फ्लु रोगलाई नियन्त्रणमा लिन सकिएको छैन ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस–२ का ५० वर्षीय बादी टमटा, अर्छानी–७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी–४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको छ ।
दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ ।
वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निर्मितको भरमा काम चलिरहेको छ । सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ ।
त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ । चार जना स्टाफ नर्सको पद खाली रहेको छ । त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा पाँच जनाको पदपूर्ति भएको छ भने सात जना रिक्त रहेको छ । यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली रहेको छ ।
।








