बैशाख ४ ।इटाली,समुद्री मार्गबाट इटाली जाँदै डुंगामा सवार प्रवासीबीच भएको धार्मिक झडपमा १२ जना इसाईको हत्या गरेको आरोपमा प्रहरीले १५ जना मुस्लिमलाई पक्राउ गरेको छ ।
समुद्रमा चलिरहेको डुंगामा भएको धार्मिक झडपमा मारिएका इसाई प्रवासी घाना र नाइजेरियाको रहेको आशंका गरिएको छ। पक्राउ परेका १५ जना प्रवासी मुस्लिमलाई सिसलीको पालेर्मो सहरमा पक्राउ गरिएको हो । उनीहरुमाथि धार्मिक घृणाबाट प्रेरित भएर कयौको हत्या गरेको आरोप छ।
पक्राउ परेका संदिग्धहरु आइभरी कोष्ट, सेनेगल, माली र गिनीका १०५ जना मध्येका हुन् । उनीहरु मंगलबार लिबियाबाट एउटा बोटमा सवार भएर इटाली आएका थिए।
एउटा अर्को घटनामा लिबियाबाट प्रवासी यात्रु लिएर इटाली आउँदै गरेको जहाज डुब्दा ४० जनाको मृत्यु भएको छ ।
पछिल्ला दिनहरुमा भूमध्यसागर पार गर्ने प्रयास गर्ने करिब दश हजार प्रवासीलाई बाचाइसकिएको छ। इटालीले यो संकटसँग भिड्नका लागि युरोपिय संघसँग सहयोग माग गरेको छ।
यो वर्ष मात्र अहिलेसम्म अफ्रिका र मध्यपूर्वका ५ सय बढी प्रवासी युरोप आउने कोशिस गर्ने क्रममा मारिएका छन्।








