वैशाख १ ।गोरखाबजार,एनेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ लाई विकासका पूर्वाधार खडा गरेर देशकै ‘नमुना निर्वाचन क्षेत्रको’ रुपमा विकास गर्ने आफ्नो अवधारणापत्र प्रस्तुत गर्नु भएको छ ।नयाँ वर्षको अवसरमा आज गोरखा सदरमुकाममा आयोजित एक भेला,आ भट्टराईले तीन वर्षभित्र यो क्षेत्रलाई नमुना क्षेत्र बनाउने अवधारणा सार्वजनिक गर्नु भएको हो ।
उत्पादनशील, रोजगारीमूलक, आत्मनिर्भर र दिगो कार्यक्रम ल्याएर स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले यो अवधारणापत्र प्रस्तुत गरिएको उहाको धारणा थियो । नेता भट्टराईले यो अवधारणा लागु भएमा कृषि, गैरकृषि क्षेत्रमा लगानी वृद्धि हुने र गाउँघरमा रहेको गरिबी, बेरोजगारी समस्या दूर हुने बताउनु भयो ।
अनिकाल समस्या भोग्दै आएका गोरखाका पाँच गाविसका चेपाङ समुदायलाई राहतको व्यवस्था मिलाउने, चेपाङ विद्यार्थी पढ्ने आवासीय विद्यालय निर्माण गर्ने, भुम्लिचोक गाविसको हिक्लुङस्थित त्रिशूली नदीमा एक वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने, चेपाङ समुदाय विकास ट्रस्ट गठन गर्नेलगायतका कार्यक्रम भट्टराईले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा उल्लेख छ ।
दलित समुदायको परम्परागत आरानबाट भाँडावर्तन बनाउने पेसालाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउने उहाँले बताउनु भयो । उहाले
अपाङ्ग र चेपाङ समुदायलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउन वकिल साथीहरुको सहयोग लिने बताउनु भयो । भट्टराईले गोरखा सदरमुकाममा रहेको सभासद्को सम्पर्क कार्यालयमार्फत स्थानीय बासिन्दाको समस्या समाधानको प्रयास गरिने जानकारी दिनुभयो । भेलामा पार्टी नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी तथा सर्वसाधारणाको सहभागी रहेको थियो ।








