चैत २८ । काठमाडौँ,घरेलु लिग खेल्ने क्रममा बलले लागेर मृत्यु भएका अस्ट्रेलिया क्रिकेट खेलाडी फिलिप ह्युजको सम्झनामा शनिबार नेपाल र अस्ट्रेलियाबीच मैत्रीपूर्ण खेल हुन लागेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यवाहक अध्यक्ष दीपक कोइरालाले यो मैत्रीपूर्ण खेलले नेपालको क्रिकेटलाई अस्ट्रेलियासँग जोड्न महत्वपूर्ण सावित हुने बताउनु भयो । हुने खेलमा दुई टोलीलाई निलो र रातो नामकरण गरिएको छ । निलो टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ भने रातो अष्ट्रेलियाली टोलीको प्रतिनिधि हुनेछ । निलो टोलीको कप्तानी नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले गर्नेछन् भने रातोको कप्तानी अष्ट्रेलियन क्रिकेटर रायन कार्टरले गर्नेछन् ।
दुवै टोलीका कप्तानले ट्रफी सार्वजनिक गर्ने कार्यक्रमअन्तर्गत निलोका कप्तान विनोदको अनुपस्थितिमा टोलीका सदस्य शक्ति गौचन र रातोका कप्तान रायन कार्टरले ट्रफी सार्वजनिक गरेका थिए ।
निलो टोलीमा कप्तान विनोदसँगै राष्ट्रिय टोलीका कप्तान पारस खड्का, अनिल मण्डल, विनोद भण्डारी, शक्ति गौचन, प्रदीप ऐरी, करण केसी, नरेश बुढाएर, अभिनाश कर्ण, भुवन कार्की, महेश क्षेत्री, अमृत भट्टराई, राहुल विक र रामनरेश गिरी रहेका छन ।
त्यस्तै, रातो टोलीमा अष्ट्रेलियाका पूर्व क्रिकेटरहरु टीम एन्डरसन र म्याथु इलियन पनि छन् । एण्डरसन अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको ग्लोलव डिभिजन निर्देशक साथै अष्ट्रेलियाको यू–१९ टोलीका पूर्व कप्तान समेत हुन् ।
यी बाहेक, अष्ट्रेलियाका अन्य खेलाडी नआउने भएपछि नेपाली खेलाडीलाई नै दुई समूहमा विभाजन गरेर खेलाइने भएको छ । रातो टोलीमा नेपाली क्रिकेटर शरद भेसवाकर, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, बसन्त रेग्मी, पृथु बास्कोटा, सोमपाल कामी, जितेन्द्र मुखिया, राजेश पुलामी, राजवीर सिंह र प्रज्वल शाहीले अष्ट्रेलियाको टोलीबाट खेल्ने छन् । गत नोभेम्बरमा खेल्ने क्रममा बलले लागेर मृत्यु भएका खेलाडी ह्युजको निधन भएको थियो ।







