चैत २० ।मेलम्ची,एचआइभी-एड्सको नियन्त्रणका लागि काम गर्दै आइरहेको मिरमिरे समूहले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा पुरुष र महिला गरी एचआइभी-एड्सको सङ्क्रमण भेटिनेको सङ्ख्या १२१ पुगेको छ । जसमा पुरुष ६८ र महिलाको सङ्ख्या ५३ रहेको छन । सबैभन्दा बढी सङ्क्रमित इचोक गाविसमा भएको पाइएको छ । त्यस गाविसमा ३० मा एचआइभी भएको भटाएको छ । त्यसमा पुरुष १९ र महिला ११ रहेको छ । समूहका अध्यक्ष दिपक तामाङले बाहिर सार्वजनिक गर्न नचाहेकोले एड्स पिडितको सङ्ख्या अझ बढ्न सक्ने जानकारी दिनु भयो ।
जिल्लाभरको तथ्याङ्कअनुसार ६ बालबालिकामा समेत एड्सको सङ्क्रमण भेटिएको छ जसमा इचोक गाविसका चार बालबालिका रहेका छन् । आफ्नो आमाबुबामा सो रोग भएकाले बालबालिकामा समेत सरेको हो । पैसा कमाउने उद्देश्यले विदेश गई काम गर्ने महिला–पुरुष घर फर्केर आउँदा सो रोग भित्रने गरेको र यस रोगले जिल्लाभर जरो गाड्ने गरेको तामाङ बताउनुहुन्छ । गत वर्ष जिल्लामा ९५ मा सो रोग देखिएको, जसमा ४३ महिला र ५२ पुरुष रहेको तथ्याङ्कमा उल्लेख छ ।








