निजी क्षेत्रको गतिविधिलाई प्राथमिककता दिनुपर्छ : गभर्नर नेपाल

चैत १२ ।काठमाडौँ,नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले आर्थिक वृद्धिमा सघाउने निजी क्षेत्रको गतिविधिलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।‘इन्डिपेन्डेन्ट बिजनेस न्युज’ नामक संस्थाले एक कार्यक्रमको आयोजना गरेर आज गभर्नर नेपाललाई सम्मान गर्‍यो । सम्मान कार्यक्रममा बोल्दै नेपालले उद्यमशीलताको विकासका साथै सरकारलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर अर्थतन्त्रलाई उँभो लगाउने केन्द्रीय बैंकको प्राथमिकतामा सक्रिय सहयोगको अपेक्षा आफूले बैंक तथा वित्तीय संस्थाबाट गरेको उहाको भनाई थियो ।निजी क्षेत्रसँग सहजकर्ताको भूमिकामा राष्ट्र बैंकले काम गर्ने र ऐननियम निर्देशिका बनाएर स्वतन्त्र ढङ्गले काम गर्न दिने वातावरण बनाउनुपर्ने मान्यतामा आफू दृढ रहेको उहाँले बताउनुभयो ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष उपेन्द्र पौडेलले कृषि क्षेत्रमा लगानी बढाउन राष्ट्र बैंकले दिएको निर्देशनलाई बैंक तथा वित्तीय संस्थाहरुले सकारात्मक रुपमा लिएका भएता पनि कृषि उपकरण, सिँचाइ, बीउबिजनजस्ता आधारभूत वस्तुको सुनिश्चितता गर्न सरकारसँग आग्रह गर्नुभयो ।
कार्यक्रम आयोजक संस्थाका प्रबन्ध निर्देशक हृदयराज गौतमले वित्तीय साक्षरता अभियान गाउँगाउँमा पुर्याउन तथा पूर्वाधार निर्माणमा केन्द्रीय बैंकले सरकारलाई घच्घच्याउनुपर्ने सुझाव दिनुभयो ।

सम्बन्धित शिर्षकहरु