चैत १२ ।काठमाडौँ,राष्ट्रपति डा रामवरण यादव चीनमा हुने ‘एसियाका लागि बोआओ मञ्च’ को वार्षिक सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नु भएको छ । चीनको बोआओ सहरमा आयोजना हुने उक्त्त सम्मेलनमा भाग लिन राष्ट्रपतिलाई चीन सरकारले निमन्त्रणा गरेको थियो । चीन प्रस्थानअघि राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीद्वय, मन्त्रिगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्च पदाधिकारी, नेपालका लागि विभिन्न मुलुकका राजदूतलगायतले बिदाइ गरे । राष्ट्रपति यादवको बिदाइ समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्यो ।
चीनको दक्षिणी प्रान्त हाइनानको बोआओ सहरमा यही चैत १२ देखि १५ गतेसम्म आयोजना हुने सो सम्मेलनमा राष्ट्रपति डा यादवले यही चैत १४ गते बिहान सम्बोधन गर्ने कार्यक्रम छ । यसै दिन अपराह्न आफ्ना चिनियाँ समकक्षी राष्ट्रपति सि जिनपिङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साताव्यापी चीन भ्रमणक्रममा आजै साँझ राष्ट्रपति डा यादव नेतृत्वको प्रतिनिधिमण्डल हाइनान प्रान्तको सान्या सहर पुग्नेछ । एकदिने सान्या बसाइका क्रममा राष्ट्रपतिले आरका भ्याली लाइभ म्युजियम कल्चरल हेरिटेज पार्क एन्ड अब्जर्भेसनको अवलोकन गर्नाका साथै नान्सा रमणीय उद्यानको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।शनिबार अपराह्न राष्ट्रपति यादव र अस्ट्रियाका राष्ट्रपति डा हेनिज फिस्चर तथा स्विडेनका प्रधानमन्त्री स्टेफन लफभेनसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।बुधबार बिहान उक्त प्रतिनिधिमण्डल स्वदेश फिर्ता हुने कार्यक्रम छ ।राष्ट्रपति नेतृत्वको १८ सदस्यीय प्रतिनिधिमण्डलमा राष्ट्रपतिकी सुपुत्री अनिता, सहरी विकासमन्त्री डा नारायण खड्का, राष्ट्रपतिका सल्लाहकारद्वय सूर्यप्रसाद ढुङ्गेल र हरि शर्मा, राष्ट्रपतिको कार्यालयका सचिव अनुपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के, परराष्ट्र मन्त्रालयका कामु सचिव शङ्करदास वैरागी र सहसचिव झवीन्द्र अर्याल, राष्ट्रपतिका स्वकीय सचिव ललितबहादुर बस्नेत, स्वकीय चिकित्सिक डा यादवकुमारदेव भट्ट, शिष्टाचार महापाल अर्जुनकान्त मैनालीलगायत हुनुहुन्छ ।








