काठमाडौँ, नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले देशको आर्थिक उन्नतिका लागि आफू क्रियाशील रहने बताउनु भएको छ ।
उहाले निक्षेपकर्ताको रकमको सुरक्षा तथा लगानीकर्ताको विश्वास जित्न आफुले प्रयत्न गर्ने प्रतिवद्दता जनाउनु भयो । केन्द्रीय बैङ्कमा आइतबार पदबहाली गरेपछि आयोजित कार्यक्रममा उहाँले
बताउनु भयो । सुशासनसहितको वित्तीय स्थायित्व आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उहाले राष्ट्रलाई सर्वोपरी मानेर देशको आर्थिक उन्नयनका निम्ति आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
“निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थासँग समन्वय कायम गर्दै वैदेशिक लगानी भित्र्याउन निरन्तर लागिरहने छु,”– केन्द्रीय बैंकका सबैेको साथ र सहयोगमा निर्धारित लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गर्दै गभर्नर नेपालले भन्नुभयो ।”
सरकारको आर्थिक सल्लाहकार केन्द्रीय बैंकले मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन आवश्यक पर्ने नीति तर्जुमाका साथै मौजुदा ऐन, विनियमको पूर्ण कार्यान्वयन गर्ने बताउँँदै उहाँले अन्तर्राष्ट्रिस्तरमा गरिएका प्रतिबद्धता पूरा गर्न पनि आफू इमान्दारीपूर्वक लाग्ने स्पष्ट गर्नुभयो ।
बैङ्क तथा वित्तीय संस्थाको सुदृढीकरण, वित्तीय पारदर्शिता, मानव संशाधनको विकास र सबल केन्द्रीय बैंकका रुपमा नेपाल राष्ट्र बैङ्कलाई नेतृत्व दिन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत गभर्नर नेपालले व्यक्त गर्नुभयो ।
नियमनकारी निकायमा काम गरेर आइसकेकाले आफूलाई सुपरीवेक्षणलगायत काम नौला नभएका भन्दै वित्तीय अपराध नियन्त्रण, सुशासन प्रवद्र्धन, जनविश्वास आर्जनलाई पनि आफूले उत्तिकै प्राथमिकता दिएको जानकारी दिनुभयो ।








