चैत ४ । इलाम, बिहीबारदेखि सुरु हुने प्रवेशिका परीक्षाका लागि जिल्ला शिक्षा कार्यालय इलामले एउटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षदेखि सहयोगीसम्म महिला परिचालन गरेको छ ।
सदरमुकामस्थित आदर्श उच्च माध्यमिक विद्यालयको ‘ग’ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी पनि महिला नै राखिएको हो ।
परीक्षाको तयारी सम्बन्धमा जानकारी दिन जिशिकामा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जिशिअ टङ्कप्रसाद गौतमले इलाममै नमुनाका रुपमा महिलालाई परीक्षाको जिम्मा दिइएको बताए । ‘यसपालिदेखि नयाँ अभ्यास र परीक्षण गरेका छौँ,’ जिशिअ गौतमले भने– ‘यसले सबैमा सकारात्मक सन्देश जान्छ ।’
उक्त परीक्षा केन्द्रमा सोही विद्यालयकी शिक्षिका हेमलता उप्रेतीलाई केन्द्राध्यक्ष तोकिएको छ । उप्रेतीले सहायक केन्द्राध्यक्षमा शिक्षिका झुमादेवी काफ्लेलाई तोकेकिछन् । ‘निरीक्षकमा पनि सबै महिला राख्ने गरी नजिकका विद्यालयबाट शिक्षिका माग गरिएको छ,’ उप्रेतीले भनिन्–’सात जना शिक्षिकालाई निरीक्षक राखिएको छ । सुरक्षाकर्मी र सहयोगी सबै महिला नै छन् ।’
इलाममा यो वर्ष चार जना कैदी र तीन जना दृष्टिविहीनसहित नियमिततर्फ तीन हजार ७९३ र एक्जाम्टेडतर्फ तीन हजार १८९ जना विद्यार्थीले परीक्षा दिने भएका छन् । रासस








