काठमाडौँ,विभिन्न विधामा कलम चलाएर योगदान पुर्याउने छ जना महिलालाई महिला सञ्चार समूहले सम्मान गरेको छ । महिला सञ्चार समूहले सोमबार राजाधानीमा एक कार्यक्रमको आयोजना गरी कथाकार माया ठकुरी, साहित्यकार उन्नति बोहरा ‘शीला’, सञ्चारकर्मी उषा लोहनी, कवयित्री विमला तुम्खेवा, समाजसेवी सुभद्रा विश्वकर्मा र गीतकार प्रभा आचार्यलाई सम्मान गरेको हो ।
कार्यक्रममा कवयित्री तुम्खेवाका तीन कविता सङ्ग्रह ‘नदी, छाल र तरङ्ग’, ‘संस्मरण एउटा बुढो रुखको’ र ‘विमला तुम्खेवाका कविताहरु’ विमोचन समेत गरियो ।कार्यक्रममा सबैलाई सम्मान गर्दै नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले नेपाली साहित्यको उत्थानमा महिला साहित्यकारको स्थान उच्च रहेको बताउनुभयो ।उहाँले यस क्षेत्रमा महिलाको आगमनलाई स्वागत गर्दै यसै क्षेत्रलाई निरन्तरता दिनका लागि प्रोत्साहित गर्नुपर्ने धारणा राख्नु भयो ।








