संविधानसभाको बैठक तत्काल बोलाउन एमालेको माग

काठमाडौं, नेकपा एमालेले सहमतिबाट संविधान निर्माण गर्ने सम्भावना कमजोर बन्दै गएको भन्दै संविधानसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा सोमबार बसेको स्थायी कमिटी बैठकले सहमतिको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको हो । पार्टीले संविधानसभाको बैठक तत्काल बोलाउन कांग्रेससँग छलफल गर्ने निर्णय गरेको छ ।

संविधानसभाको दोस्रो ठूलो दल एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चासँग सहमतिको सम्भावना सकिँदै गएको भन्दै यस्तो निर्णय गरेको एमालेले जनाएको छ । एमालेले कांग्रेस महाधिवेशनको असर संविधान निर्माणमा देखिन थालेको आशंका समेत गरेको छ । कांग्रेसको यसैसाता सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले सहमतिकै आधारमा संविधान बनाउने निर्णयलाई एमालेले असन्तुष्टि जनाएको छ ।
बैठकमा कांग्रेसले तत्कालै सहमति वा प्रक्रियाबाट संविधान जारी गर्न नचाहेमा सरकारबाट बाहिरिने चेतावनी एमालेले दिएको छ ।
संविधान नबन्ने अवस्थामा सरकारमा बसिरहनु उपयुक्त नहुने भएकोले पार्टीको माग अनुसार नगरिए एमाले सरकारबाट बाहिर निस्कने समेत बैठकमा छलफल भएको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।
बैठकमा नेताहरुले एकपटक विपक्षी मोर्चासँग निर्णायक ढंगले वार्ता गर्नुपर्ने र त्यसपछि पनि सहमति नभए पर्खिन नसकिने बताएका थिए । तर, कांग्रेस नै ढुलमुलमा रहेको भन्दै एमाले नेताहरुले यसबारे कांग्रेससँग छलफल गर्ने भएका छन् ।
सोमवारको बैठकमा संविधान निर्माणकै सन्दर्भमा छलफल भएकाले कार्य बिभाजन र बैकल्पिक केन्द्रीय सदस्य मनोनयन हुन नसकेको एमालेले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु