फागुन १६ ।काठमाडौँ,डिभाइन इन्टरनेसनल युथ एसोसिएसन-मधेस (डिया मधेस)ले सांस्कृतिक पहिचानलाई संरक्षण गर्न आज धोती पहिरनमा पदयात्रा निकालेको छ ।काठमाडौँको सहिदढोकाबाट निकालिएको सो यात्रा भद्रकाली,माइतीघर,बिजुली बजार हुँदै नयाँबानेश्वरस्थित संविधानसभा भवन अगाडि सभामा परिणत भएको थियो । यात्रामा सहभागीले समुदायको पहिरन धोती लगाएका थिए ।
सहिद राजेश्वर ठाकुरका पिता तपेश्वरले पदयात्राको शुभारम्भ गर्दै मधेसी समुदायको पहिरनको महत्वपूर्ण सभ्यता धोती भएको भए पनि विभिन्न प्रभावले अहिले धोती लगाउने संस्कृति लोप हुन थालेकाले त्यसको संरक्षणमा जोड दिनुभयो ।
सो संस्थाका संयोजक राजेशकुमार जलानले प्राचीनकालदेखि नै विभिन्न ऋषिहरुको पहिरनका रुपमा धोतीको महत्व रहेको उल्लेख गर्दै राजा जनक तथा बुद्धले समेत धोती पहिरिएको र धोती लगाउने मानिसलाई काठमाडौँ उपत्यकालगायत केही स्थानमा नकारात्मक भावनाले हेर्ने गरेकामा दुःख व्यक्त गर्नुभयो ।








