माघ २५ । स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा उपाधि होडको अग्रस्थानमा रहेको रियाल मड्रिड सहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग लज्जास्पद हार ब्यहोरेको छ । गएराति भएको खेलमा एट्लेटिकोले घरेलु मैदानमा रियाललार्इ ४-० को फराकिलो हार चखाएको हो ।
गत सिजनको च्याम्पियन्स लिगको फाइनलमा हार ब्यहोरेयता एट्लेटिकोले रियाललार्इ लगातार ६ खेलमा हार चखाइसकेको छ ।
एट्लेटिकोलार्इ गतिलो जित दिलाउने क्रममा खेलको पहिलो हाफ डिबक्बाट टियागोले प्रहार गरेको बलले रियालका किपर इकर कासियासलार्इ छक्याउँदै जाली चुमेपछि एट्लेटिकोले अग्रता लिन सफल भयो ।
अग्रता लिएलगत्तै साउल निगुएजले ओभरहेड किकबाट अर्को गोल थपेर एट्लेटिकोलार्इ दोहोरो अग्रता दिलाए । पहिलो हाफमा २ गोल गरेको एट्लेटिकोले दोस्रो हाफमा पनि २ गोल गर्यो ।
दोस्रो हाफमा एन्टेनियो ग्रिजमनले र मारियो मान्जुकिजले गोल गरेपछि रियलले फराकिलो हार चाख्न बाध्य भयो । एट्लेटिकोले दुबै हाफमा गोल गर्न सफल हुँदा रियलका क्रिस्टियानो रोनाल्डो, बेन्जेमा, ग्यारेथ बेल, हर्नान्डेज जस्ता खेलाडी फ्लप सावित भए ।
रियाललार्इ हराएपछि एट्लेटिकोले उ सँगको दुरी चार अंकका झारेको छ । रियाल हारेपछि अब स्पेनिस ला लिगाको उपाधि होड खुल्ला भएको छ । आइतबार राति लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले एट्लेटिको बिल्बाओसँग प्रतिस्पर्धा गर्दैछ । उसले सो खेल जितेमा रियालसँगको दूरी एक अंकमा झार्नेछ ।
यो हारपछि पनि रियाल ५४ अंकसहित लिगको शीर्ष स्थानमै छ । एक खेल कम खेलेर दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५० अंक छ । त्यसैगरी तेस्रो स्थानको एट्लेटिकोको पनि ५० अंक नै रहेको छ ।








