माघ २३ ।पोखरा,एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका मुख्य विषयवस्तुमा सहमति हुन नसकेकोले ८० प्रतिशतमा भएको सहमतिले कुनै अर्थ नराख्ने बताउनु भएको छ ।एमाओवादी कास्कीद्वारा आयोजित ‘सङ्घीय गणतान्त्रिक संविधान निर्माणमा यथास्थिति र प्रतिगामी चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाले एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै त्यस जातिको नाममा प्रदेश नामाकरण गर्न खोजिएको स्पष्ट पार्नु भयो ।
नेता भट्टराईले गण्डकी प्रदेशका धेरै जिल्लामा तमुहरुको बाहुल्य भएकाले नै तमुवान राज्य राख्न खोजिएको धारणा राख्नुभयो । संविधानका अन्तर्वस्तुमा ८० प्रतिशतमा सहमति भएको भनिए पनि मुख्य विषयमा सहमति हुन नसकेको विचार व्यक्त गर्दै उहाँले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका मुख्य विषयवस्तुमा सहमति नभएपछि ८० प्रतिशतमा भएको सहमतिले कुनै अर्थ नराख्ने जिकिर गर्नुभयो ।
उहाँले नेपाली काँग्रेस र एमाले बलजफ्ती पेलेर पुरानै संविधान ल्याउन खोजे परिवर्तनकारी जनता चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।
भट्टराईले गएको कात्तिक १७ गते परिवर्तनका मुद्दा ओझेलमा पारेर पुरानै संविधानका अन्तरवस्तुको नौ बुँधे प्रस्ताव पेस गरेपछि एमाओवादीलगायत ३० सदस्यीय मोर्चालाई आन्दोलनमा जान बाध्य पारिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नागरिक अगुवाहरूले मिलेर संविधान बनाउन, देशमा शान्ति सुव्यवस्था कायम गर्न, बन्द हडताल सधैंका लागि बन्द गर्न, राजनीतिक खिचातानीबाट जनतालाई ढाल नबनाउन आग्रह गर्नुभएको थियो ।








