जनजाति कुट्न जनजातिकै लडाकू फोर्स

माघ १२ । काठमाण्डौ, एमाओवादी गाउँ कमिटीदेखिकै कार्यकर्तालाई पद्मरत्न तुलाधर नेतृत्वको जनजाति आन्दोलनमा अनिवार्य सहभागी हुन सर्कुलर जारी गरेपनि मान्छे उपस्थत नभएपछि तुलाधर मोर्चाले जनजाति महासंघका नेताहरुमाथि आक्रमणको योजना बनाएको खुलासा भएको छ । तुलाधर नेतृत्वको आन्दोलनमा आदिवासी जनजाति भन्दा पनि एमाओवादी कार्यकर्ताहरुको मात्र उपस्थिति हुने गरेको छ भने महासंघको प्रदर्शनमा आदिवासी जनजाति अभियन्ताहरु सहभागी हुने गरेका छन ।

तुलाधर मोर्चाको आन्दोलन असफल हुन थालेपछि लडाकू दस्ता बनाएर महासंघका अध्यक्ष नागेन्द्र कुमाल, महासचिव पेम्बा भोटेमाथि आक्रमण प्रयास भएको छ । तुलाधर मोर्चाका सदस्य समेत रहेका आङकाजी शेर्पाले फेसबुकबाट अव कुमाल र भोटेलाई ठेगान लगाउने चेतावनी दिइसकेका छन । त्यसअघि पहिचानसहितको संघीयता  माग्दै सडकमा उत्रिएका आदिवासी जनजातिहरुबीच बिहीबार संविधान सभा भवन नजिकै झडप भएको थियो ।

नेपाल आदिवासी जनजाति महासंघ र पद्मरत्न तुलाधर  नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन कृष्ण टावर अगाडि आम्नेसाम्ने हुँदा झडपको अवस्था सिर्जना भएको थियो । जनजाति महासंघले पहिचान सहितको संघीयता र तत्काल संविधान जारी गर्न माग गर्दै धर्ना र प्रदर्शन शुरु गरेको थियो । साम्नेतिर तुलाधर नेतृत्वका कार्यकर्ताहरु एकल जातीय संघीयता माग गर्दै प्रदर्शनमा थिए ।

तुलाधार नेतृत्वको जातीय फोर्सका युवादस्ताले सुरुमा कुमाललाई धम्क्याएको र पछि कार्यक्रममा हस्तक्षेप गर्न खोजेको बताइएको छ । उनीहरुले हातमा रड पनि बोकेका थिए । तिनीहरु जनजाति आन्दोलनमा कहिँकतै नदेखिएका वाइसीएलका कार्यकर्ता रहेको दावी गरिएको छ । साँघु साप्ताहिकबाट साभार ।

सम्बन्धित शिर्षकहरु