माघ ११ ।काठमाडौ,सभाध्यक्ष नेम्बाङले आइतबारको बैठकमा ल्याउने समितिको ठाडो प्रस्ताव रोक्ने धारणा एमाओवादी गठबन्धनले सार्वजनिक गरेपछि संविधानसभामा आइतबारका लागि सुरक्षा व्यवस्था झनै कडा पारिएको छ।सम्भावित द्वन्द्वका कारण मर्यादापालक थप्दै संविधानसभा परिसरको सुरक्षा व्यवस्था झनै कडा पारिएको छ ।
एमाओवादी गठबन्धनले समिति गठन प्रक्रिया अघि बढ्न नदिने बताएपछि विशेष सुरक्षा तैनाथ हुने भएको छ। गत सोमबार मध्यरातमा बसेको संविधानसभामा एमाओवादीसहित विपक्षी गठबन्धनले बैठक सकिएपछि गरेको तोडफोडलाई ध्यानमा राखेर मंगलबारदेखि विशेष सुरक्षा व्यवस्था गरिँदै आएको छ।
संविधानसभा भवनमा मर्यादापालकको संख्या ६ सय ५० पुर्याइएको छ। जनपद प्रहरी र सशस्त्र प्रहरी पनि थप गरिएको छ। केही कमान्डोसहित संविधानसभा भवनमा दुई हजार सुरक्षाकर्मी तैनाथ गरिएको संविधानसभा सचिवालय स्रोतले बतायो।
स्रोतका अनुसार रक्षा मन्त्रालयका केही सादा पोसाकका सुरक्षाकर्मी पनि संविधानसभामा तैनाथ छन्। यसअघि नेपाल प्रहरीका उपरीक्षक (एसपी) को नेतृत्वमा सुरक्षा व्यवस्था हुने गरे पनि तनाव बढ्दै गएपछि प्रहरी नायब महानिरीक्षक (डीआईजी) ले सुरक्षा नेतृत्व समालेका छन्। डीआईजी मधु पुडासैनीको कमान्डमा मर्यादापालक परिचालित भएका छन्।
गत पुस २३ गते संविधानसभामा सेवारत ९२ जना मर्यादा पालकको संख्यामा झन्डै तीन सय प्रतिशत बढाउने निर्णय भएको थियो। तनाव बढ्दै गएपछि यो संख्या अझ बढ्दै गएको छ।








