माघ ७ ।काठमाडौ,नेपालस्थित अन्तर्राष्ट्रिय समुदायको तर्फबाट संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिले संविधानका लागि वार्तामा बस्न दलहरुलार्इ आग्रह गरेको छ। संयुक्त राष्ट्र संघले केही दिनयता दलहरुबीच बढेको तिक्ताप्रति चासो ब्यक्त गर्दै राष्ट्रसंघका आवासीय प्रतिनिधिले बुधबार विज्ञप्पती निकालेर नयाँ संबिधानमा सहमति जुटाउन तत्काल वार्तामा बस्न दलहरुलार्इ आग्रह गरेको हो । राष्ट्रसंघले यतिबेला राजनीतिक दलहरुले नेतृत्व प्रदर्शन गरी ऎतिहासिक जिम्मेवारी पुरा गर्ने बेला भएको तर्फ पनि दलहरुलार्इ सचेत गराएको छ ।
द्वन्दको समाप्तीपछि नेपालका नेताहरुले धेरै उपलब्धि हासिल गरेको बताउँदै राष्ट्र संघले हालैका दिनमा दलहरुबीचको तनावपूर्ण सम्बम्धबारे चासो ब्यक्त गर्दै राष्ट्रिय हितमा लचकता र तदारुकताका साथ संबिधानका लागि वार्ता जारी राख्न भनेको हो ।
‘संबिधानले देशको भविष्यको दिशानिर्देश गर्छ । यसलार्इ शान्तिपूर्ण कार्यान्वन र स्थायित्व दिन नेपाली जनताको बृहत समर्थन आवश्यक पर्छ’, राष्ट्रसंघको विज्ञप्तिमा भनिएको छ, ‘ समावेशी संविधानका लागि आफ्ना प्रयासहरु दोब्बर गर्न अन्तर्राष्ट्रिय समूदाय दलहरुलाई आह्वान गर्दछ ।’
राष्ट्र संघले हिंसा र हिंसाको धम्कीको भर्त्सना गर्ने जनाउँदै सबै दलहरुलाई वार्ताको टेवलमा फर्कन आह्वान गरेको छ |








