भिमफेदिमा टाटा सुमो दुर्घटना हुदा ४ जनाको मृत्यु, ८ जना घाइते

माघ २, काठमाडौँ – हेटौडावाट राजधानी प्रवेश गर्ने छोटो बैकल्पिक मार्गको भीमफेदी-कुलेखानी सडक खण्डमा शुक्रवार भएको टाटासुमो दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना यात्रु घाईते भएका छन् । काठमाण्डौवाट हेटौडातर्फ गैरहेको ना १ ज ४२७५ नम्वरको टाटासुमो भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी गाविस ८ जुरिखेतको सडकवाट एक सय  २५ मिटर तल खसेको  थियो ।

दुर्घटनामा मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका पदमपोखरीका योकेश तामाङ, निराजन चौलागाई,कैलाली सहनपुर ५ का  डम्वरवहादुर राउत रहेका छन । मृतक ७,८ वर्षे वालकको सनाखन हुन सकेको छैन । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो । उनीहरुको शव हेटौडा अस्पतालमा लगीएको छ  ।

तिव्रगतीमा आएको टाटासुमोको ओरालोमा ब्रेक नलागेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । पछिल्लाे समयमा ट्राफिकले टाटासुमोमा ९ जनामात्र यात्रु राख्न पाउने व्यवस्था गरेको भएपनि उक्त टाटासुमोमा १२ जना यात्रु सवार थिए । ४० दिन अघि यहि सडकको सिस्नेरी लेनडाडामा टाटासुमो दुर्घटना भएर ६ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु