म्याग्दी,उद्योगमन्त्री महेश बस्नेतले आगामी माघ ८ मा संविधान नबने जनताले एकीकृत नेकपा एमाओवादीलाई दोष लगाउने बताउनु भएको छ । उहाँले निर्धारित समयमा संविधान जारी गर्न नेपाली काँग्रेस र एमालेले देखाएको लचकतालाई कमजोरी ठान्दै एमाओवादी आफ्नै अडानमा कायम रहिरहे संविधान नबन्ने दावी गर्नु भयो ।
पाँचौंँ म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री बस्नेतले केन्द्रमा राजनीतिक दल र विभिन्न जातजाति बीचमा दूरी बढिरहेको बेला पहाडी जिल्ला म्याग्दीका राजनीतिक दल र विभिन्न जातीय सङ्घसंस्थाले देखाएको अभूतपूर्व एकता देशका लागि उदाहरणीय बन्नुपर्ने बताउनु भयो ।
उहाले साना तथा घरेलु विकास कार्यालयलाई उद्योग विकास कार्यालयमा परिणत गर्ने तयारी भइरहेको बताउनु भयो ।
उहाँले घरेलु कार्यालयलाई रु १० करोडसम्म लगानीका उद्योगको अनुगमन गर्ने अधिकार दिने तयारीमा मन्त्रालय लागेको जानकारी दिनुभयो ।








